महोत्तरी, २६ चैत्र ।
महोत्तरीको बलवा नगरपालिकामा सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, नयाँ भवन निर्माण तथा नगरपालिकालाई साक्षर घोषणा गर्ने लक्ष्यसहित त्रिपक्षीय सम्झौता गरिएको छ।

सेभ द चिल्ड्रेन को साझेदारी तथा रतौली युवा क्लब को समन्वयमा बलवा नगरपालिका सँग गुणस्तरीय, समावेशी प्रारम्भिक बालविकास (इसीडी) र आधारभूत शिक्षा परियोजना अन्तर्गत उक्त सम्झौता सम्पन्न भएको हो।
सम्झौतामा नगरप्रमुख रामबिजय महतो, सेभ द चिल्ड्रेन बर्दिबास फिल्ड कार्यालयका अपरेसन प्रमुख उमेश गुप्ता र रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरी लगायतको हस्ताक्षर रहेको छ।
परियोजनाको मुख्य उद्देश्य विद्यालयको भौतिक संरचना सुधार गर्दै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको जनाइएको छ। विशेषगरी बालविकास शिक्षालाई प्रभावकारी बनाउन बालमैत्री तथा अपाङ्गता मैत्री संरचना निर्माण गरिनेछ। साथै, सुरक्षित खेलकुदको व्यवस्थासहित विद्यालय वातावरण सुधारमा ध्यान दिइने बताइएको छ।
यस परियोजना अन्तर्गत बलवा नगरपालिकामा २ वटा नयाँ विद्यालय भवन निर्माण तथा ३ वटा विद्यालयको मर्मत सम्भार गरिनेछ। यसअघि सेभ द चिल्ड्रेन र रतौली युवा क्लबका प्रतिनिधिहरूले स्थलगत अनुगमन तथा नगरपालिकासँग विस्तृत छलफल समेत गरेका थिए।
सम्झौतासँगै नगरपालिकालाई साक्षर घोषणा गर्ने लक्ष्यअनुसार कार्ययोजना तयार पार्ने, छलफल गर्ने तथा आगामी रणनीति तय गर्ने काम पनि तीव्र गतिमा अघि बढाइएको छ।
कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका उमेश गुप्ताले परियोजनाले बालबालिकालाई सुरक्षित, समावेशी र गुणस्तरीय सिकाइ वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले स्थानीय तहसँगको सहकार्यले दीगो तथा प्रभावकारी परिणाम ल्याउने बताए।
त्यस्तै रतौली युवा क्लबका बैधनाथ चौधरीले समुदायसँग नजिक रहेर काम गर्दा यस्ता परियोजना अझ प्रभावकारी हुने अनुभव साझा गर्दै विद्यालय सुधार र साक्षरता अभियानलाई सफल बनाउन सक्रिय समन्वय गर्ने प्रतिबद्धता जनाए।
नगरप्रमुख रामबिजय महतोले शिक्षा क्षेत्र सुधारलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्ने र चाँडै बलवा नगरपालिकालाई साक्षर घोषणा गर्ने लक्ष्यमा नगरपालिका दृढताका साथ अघि बढिरहेको बताए।
नगरप्रमुख महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उमेश महतो, शिक्षा शाखा प्रमुख, सेभ द चिल्ड्रेनका परियोजना प्रबन्धक पुष्कर काफ्ले, नीति, वकालत तथा सञ्चार संयोजक झमकेश्वर ओझा, रतौली युवा क्लबका वरिष्ठ परियोजना संयोजक विनोद साह, अध्यक्ष साकिर खान, पत्रकार तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।







