रञ्जन कुमार भण्डारी
महोत्तरी,२३ चैत्र ।
मधेश प्रदेशका गृह,सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले महोत्तरीको मटिहानी स्थित दशगजा क्षेत्र निरिक्षण गरेका छन । सिमानाकामा शान्ति सुरक्षाको अवस्था लगायत वारे बुझ्न उनले सो निरिक्षण गरेका हुन । सोमवार बिहान मटिहानी आईपुगेका मन्त्री महतोले दशगजा क्षेत्रमै रोकिएको निर्माणाधिन नाला समेतको अवलोकन गरेका छन । उच्च अदालत जनकपुरमा स्थानिय बजरंजी प्रसाद साह र शिवा साहले आफ्नो निजी जग्गामा नाला बनाउन लागेको भन्दै रिट निवेदन दिएपछि अदालतले तत्काल काम रोक्न भनेर आदेश गरेको थियो ।

मन्त्री महतोले विकास निर्माणको काममा अवरोध नहुनु पर्ने भन्दै दुईपक्ष बसेर समस्याको समाधान खोज्न आग्रह गरे । उनले जग्गाको यकिन गरि सम्बन्धित पक्षलाई समेत क्षति नहुने गरि पहल थाल्न सरोकारवाला निकायलाई निर्देशन दिए ।
मन्त्री महतोले दशगजा निरिक्षण,नाला अवलोकनसंगै मटिहानी स्थित प्रसिद्ध लक्ष्मी नारायण मठमा दर्शन समेत गरेका छन । उनलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल तथा मटिहानी स्थानका उत्तराधिकारी महन्थ डा.रविन्द्र दास वैष्णवले स्वागत गरेका थिए ।

मन्त्री महतोसंगै प्रदेश सभा सदस्य सुनिता कुमारी साहको समेत निरिक्षण अवलोकनमा सहभागिता रहेकोमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव सहित सुरक्षा निकाय प्रमुखहरुले दशगजा निरिक्षणमा सहभागिता जनाएका छन ।








