उदयपुर,२३ चैत्र ।

उदयपुरको कटारीस्थित एक होटेलको कोठामा सँगै बसेका प्रेमी–प्रेमिकाबिच भएको विवादले युवकको ज्यान गएको छ भने एक युवती घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार उदयपुरको कटारी बजारमा रहेको हिमगंगा होटेलको कोठामा सँगै बसेका प्रेमी (युवक)को कोठाभित्रै झुन्डिएर मृत्यु भएको हो भने प्रेमिका (युवती)को झुन्डिएकै अवस्थामा उद्धार गरिएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका– ११ घर भएका २८ वर्षीय युवक सिपिन कुमार हिमगंगा होटेलको कोठाभित्रै झुन्डिएको अवस्थामा मृत फेला परेका छन् भने युवती २८ वर्षीया सविना मगर घाइते अवस्थामा फेला परेकी छिन् ।

चापागाईंले भने, ‘हिजो दिउँसो होटेल प्रवेश गरेका उनीहरूबिच कोठाभित्रै विवाद भएपछि केटाले केटीकै सलको पासोले पंखामा झुन्डिएर आत्महत्या गरेछन् । अनि पछि त्यही सलले केटीले पनि आत्महत्याको प्रयास गर्दा होटेलका अन्य मान्छेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । झुन्डिएकै अवस्थामा युवतीको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको र अहिले अस्पतालबाट डिस्चार्ज गरेर इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ ।’

घटनापछि सविनाले मृतक सिपिनलाई बचाउने प्रयास गरे पनि सफल हुन नसकेपछि उनी स्वयंले पनि सोही सल प्रयोग गरी आत्महत्या प्रयास गरेको प्रहरीको भनाइ छ । कोठाबाट अस्वाभाविक आवाज आएपछि होटेल सञ्चालकले ढोका खोलेर हेर्दा सविना अचेत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले सिपिनको शव पोस्टमार्टमका लागि कटारी अस्पताल पठाएको छ । प्रारम्भिक बयानअनुसार मृतक सिपिनका दुई श्रीमती रहेको रहस्य खुलेको छ । सविनाको पारिवारिक तथा व्यक्तिगत विवरणबारे थप अनुसन्धान भइरहेको र घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान तीव्र बनाइएको प्रहरी उपरीक्षक चापागाईंले जानकारी दिए ।