महोत्तरी,५ चैत्र ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आगमी तिन दिनको मौसम पुर्वानुमानको बुलेटिन जारी गर्दै सतर्कताका लागि अनुरोध गरेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार चैत्र ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना रहेको बुलेटिन जारी गर्दै जनाएको छ ।

साथै, शुक्रबारबाटै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी -झण्डै ११९ किलोमिटर प्रतिघण्टा चल्ने सम्भावना रहेको जनाएको छ ।
यहि समय प्रि–मनसुनको अवधि पनि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने गरेकोले सर्तक रहन भनिएको हो । पछिल्ला केही दिन हावाहुरीका घटनाका कारण मानिसहरुको मृत्यु तथा घाइते भएकोले सतर्कता आवश्यक रहेको बताइएको छ ।
विपद प्रतिकार्य शाखाका उपसचिव मबहादुर केसीले हस्ताक्षर गरेको सार्वजनिक मौसम सम्बन्धी सुचनामा उल्लिखित स्थानमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउनु हुन, विशेष काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी बिस्तारै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्नु हुन, बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, सो समयमा विद्युतीय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्नु हुन पनि आग्रह गरिएको हो ।







