रञ्जन भण्डारी
महोत्तरी,५ चैत्र ।
लामो प्रयासपछि मटिहानी स्थित प्रहरी चौकीले आफ्नो नयाँ प्रसासनिक भवन पाएको छ । मटिहानी गरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल,सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेल तथा सुरक्षा निकाय प्रमुखहरु तथा चौकी रहेको वडाका वडाअध्यक्ष सहितले संयुक्त रुपमा प्रसासनिक भवनको उदघाटन गर्दै मटिहानी चौकीको क्षेत्राधिकारमा चौकीले शुसासन कायम राख्न महत्वपुर्ण भुमिका निर्वाह गरोस भन्दै शुभकामना व्यक्त गरे ।
मटिहानी नगरपालिकाको करिव ३२ लाखको लागतमा नयाँ प्रसासनिक भवन निर्माण भएपछि दैनिक कार्य संचालन गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ ।
मटिहानीका नगरप्रमुख मण्डलले मटिहानीमा पहिलो पटक प्रहरीले अस्थाई रुपमा सेवा प्रवाह गर्न प्रवेश गरेको बखत देखि हालसम्मको विगतलाई सम्झदै मटिहानीमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीले उल्लेखनिय भुमिका निर्वाह गरेको सम्झिए । उनले हालै सम्पन्न निर्वाचनमा समेत नेपाल प्रहरीले उच्च कार्यकुशलता देखाएको बताउदै मटिहानीको सुरक्षाको जस नेपाल प्रहरीलाई सधै लागिरहोस भन्ने कामना व्यक्त गरे ।
मटिहानी प्रहरी चौकीमा रहेको पुराना भवन जिर्ण रहेकोमा सोहि भवन उपयोग गर्न जोखिम भएपछि मटिहानी नगरपालिकाले आफ्नै लागतमा उक्त चौकीको नयाँ भवन बनाईदिएको हो ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले चौकीको नयाँ भवन निर्माणमा सघाएकोमा मटिहानी नगरपालिकाका सम्पुर्ण टिमलाई धन्यवाद दिए । उनले प्रहरीले गरेको सकारात्मक र नकारात्मक दुवैकाम बारे टिप्पनी आवश्यक रहेको भन्दै सकारात्मक कामको प्रसंसाले अझै काम गर्ने हौसला मिल्ने र नकारात्मक काम बारेको प्रतिकृयाले सुध्रिन र सच्चिन अवसर भेट्ने बताए ।
नव–निर्मित भवनमा हल, थुनुवा कक्ष, चौकी प्रमुख कक्ष, सहायक चौकी प्रमुख कक्ष, स्टोर र कार्यालय कक्ष रहेको छ ।
नवनिर्मित भवनको उदघाटन समारोहमा नेपाली सेनाको गोरखनाथ गण परिकौलीका गणपति राम प्रसाद लामिछाने, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका उपअनुसन्धान निर्देशक चन्दन झा, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश दास लगायत राजनीतिक दलका प्रतिनिधि, व्यवसायी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।