रञ्जन कुमार भण्डारी
महोत्तरी,२९ फाल्गुण ।
नेपाल भारतको सिमानाकामा अवस्थित जलेश्वर नगरपालिका ३ मलिवाराबाट मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न भएको आरोपमा ७ जना पक्राउ परेका छन । आफन्त नेपाल नामक संस्थाको मलिवारामा रहेको चेक प्वाईन्टमा कार्यरत आफन्त नेपालको टोलीले शंकाको आधारमा भारत तर्फ जान लागेको एक टोलीलाई सोधपुछ गर्दा संदेहात्मक जवाफपछि टोलीलाई प्रहरीको जिम्मा लगाइएकोमा प्रहरीको प्रारम्भिक अनुसन्धानमा एक पिडिता विवाहको झाँसामा प्रलोभनमा पारी लैजाँदै गरेको अवस्था देखिएपछि पक्राउ गरी ७ जना आरोपीहरुमाथि मानव बेचबिखन तथा ओसार पसार शिर्षकमा मुद्दा दर्ता गर्दै प्रहरीले अनुसन्धान अगाडी बढाएको छ भने पिडितालाई सेफ हाउसमा संरक्षणको लागि जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफन्त नेपालको सुचनापछि भारत प्रवेश गर्न लागेको टोलीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याई प्रारम्भिक सोधपुछ गरेको थियो ।
२३ वर्षिया पिडितालाई भारतीय व्यक्तीहरुले बेचबिखन गर्ने उद्देश्यले ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरि भारत तर्फ लिई जाँदै गरेको खुल्न आएको हुँदा उक्त वारदातमा संलग्न देश,भारत गुजरात राज्य , उना ,तीन लस्ता टेस्टीनगर सोसाइटी बस्ने ३५ वर्षिय पुरुष व्यक्ति, देश भारत गुजरात राज्य जखाउ सोल्ट बस्ने बर्ष ५६ को पुरुष व्यक्ति, सोही स्थान बस्ने अन्दाजी बर्ष २८ को पुरुष व्यक्ति, बर्ष २८ को पुरुष व्यक्ति, जिल्ला धनुषा मिथिला विहारी न.पा. वडा नं. ३ बस्ने बर्ष ५० की महिला (पीडितको नक्कली आमाको भुमिका निर्वाह गरेको) र जिल्ला महोत्तरी भंगहा न.पा. वडा नं. ६ बस्ने बर्ष १८ की महिला (पीडितको बहिनीको भुमिका निर्वाह गरेको) र महोत्तरीको भंगहा न.पा. वडा नं. ८ बस्ने एक पुरुष व्यक्ति गरि ७ जनालाई प्रहरीले मुद्दा चलाएको हो ।
यस्तो थियो घटना ः
धनुषा निवासी २३ वर्षिया पिडिता विहेपछि श्रीमानले छोडेकोमा आफ्नो जिवन निर्वाह गर्न जनकपुर स्थित पिडारी चौकमा बस्दै आएकि थिईन । सोहि ठाउमा ज्याला मजदुरी गर्दै जिवन गुजारा गर्दै आएकि पिडितालाई सोहि ठाउमा व्यवसाय गर्दै आएकि एक महिलाले विभिन्न प्रलोभन देखाई आरोपीहरुसंग भेटघाट गराई पिडारी चौक स्थित एक होटेलमा वसी विवाह समेत गराई भारत लग्न खोजेको अवस्थामा आफन्त नेपालको टोलीले सोधपुछ गर्दा रहस्य खुलेको थियो । हाल सेफ हाउसमा संरक्षणमा रहेकि पिडिताले प्रहरी सहितको टोलीले उद्धार गरेपछिमात्र आफु बेचिनबाट जोगिएको चाल पाएकि पिडिताले बताईन । उनलाई विभिन्न प्रलोभन दिई भारत लग्न खोजिएको थियो ।
यता प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भैरहेको बताएको छ ।