रञ्जन कुमार भण्डारी
महोत्तरी,२४ फाल्गुण ।
महोत्तरीको चारै निर्वाचन क्षेत्रमा एकछत्र राष्ट्रीय स्वतन्त्र पार्टीले जित हात पारेको छ । क्षेत्र १ मा ३४६३६ मत ल्याई प्रमोद कुमार महतो विजय भएका हुन भने क्षेत्र २ मा ३२७२२ मतका साथ दिपक कुमार साहले बाजी मारे । यता क्षेत्र ३ मा रास्वपाकै उज्वल झा ३२४५१ मतका साथ विजय भए । त्यसतै क्षेत्र ४ मा गौरी यादवले ३०१३२ मत सहित प्रतिनिधीसभा सदस्य हुने शौभाग्य जुराईन ।
क्षेत्र १ मा एकलाख ५ हजार ६४६ मतदाता रहेकोमा ६७ हजार १९७ ले मतदानमा सहभागिता जनाए । सो मध्ये समेत ६३ हजार २४३ मत सदर र ३ हजार ९५४ बदर भएको थियो । यसलाई प्रतिशतमा हेर्दा क्षेत्र १ मा ६३.६० प्रतिशत मतदान भएकोमा ९४.११ प्रतिशत मत सदर र ५.८८ प्रतिशत मत बदर भएको देखिन्छ ।
त्यसतै क्षेत्र २ मा एकलाख ७ हजार ५९४ मतदाता रहेकोमा ६०.०३ प्रतिशत ६४ हजार ५९६ ले मतदान गरे । यहि क्षेत्रमा ५९ हजार १४७ (९१.५६ प्रतिशत) सदर र ५ हजार ४४९ ( ८.४३ प्रतिशत) मत बदर भयो ।
त्यसतै क्षेत्र ३ मा कुल मतदाता एकलाख १० हजार ४३६ रहेकोमा सो मध्ये ६४ हजार ४८८(५८.३९ प्रतिशत) ले मतदान गरेका छन । यहि क्षेत्रमा खसेको मत मध्ये ५९ हजार ४७८ ( ९२.२३ प्रतिशत) सदर र ५ हजार १० ( ७.७६ प्रतिशत) बदर भएको छ ।
यता क्षेत्र ४ मा कुल मतदाता एकलाख ७ हजार ६०६ रहेकोमा सो मध्ये ६५ हजार ६५ मतदाता ( ६०.४६ प्रतिशत) ले मतदान गरे । यहि क्षेत्रमा भएको मतदानको ९१.५१ प्रतिशत मत ५९ हजार ५४३ सदर भएको छ भने ८.४८ प्रतिशत ५ हजार ५२२ मत बदर भएको छ ।
महोत्तरीको क्षेत्र १ मा १२ हजार ६२४ मतका साथ नेकपाका गिरिराजमणि पोखरेल दोस्रो र एमालेबाट २०७९ मा निर्वाचित भएका लक्ष्मी महतो कोइरी ६ हजार ५९१ मतका साथ तेस्रो स्थानमा रहे । त्यसतै क्षेत्र २ मा विगत दुई निर्वाचन देखि प्रतिनिधीसभा सदस्यमा निर्वाचित हुदै आएका पुर्वमन्त्री शरत सिंह भण्डारीले १० हजार १९८ मत ल्याई दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ भने यहि क्षेत्रमा ९ हजार ७४५ मतका साथ नेपाली काँग्रेसकि नेतृ किरण यादव तेस्रो रहिन ।
क्षेत्र ३ मा पछिल्लो दुई निर्वाचनमा निर्वाचित भएका जसपा नेपालका संरक्षक महन्थ ठाकुरले आफ्नी छोरीलाई उम्मेदवार बनाएपनि जसपा नेपालले यस क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्न सकेन । यहि क्षेत्रमा नेपाल संघिय समाजवादी फोरमका अध्यक्ष मुहमद रिजवान ५ हजार ९६९ मतका साथ दोस्रो रहे । त्यसतै स्वतन्त्र उम्मेदवार राम आधार कापरले ४ हजार ७९० मतका साथ तेस्रो स्थानमा चित्त बुझाए ।
यता क्षेत्र ४ मा पनि पुराना नेताहरुले आफ्नो साख बचाउन सकेनन र राजनितिमा नवप्रवेशी गौरी यादवसंग हार खाए । यहि क्षेत्रमा २०७९ को निर्वाचनमा नेपाली काँग्रेसका महेन्द्र कुमार राय निर्वाचित भएकोमा यस पटक भने ६ हजार ९४४ मतका साथ उनले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । यता दोस्रो स्थानमा पुर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले ८ हजार ७४२ मत ल्याएका छन ।
महोत्तरीको चारै निर्वाचन क्षेत्रको मत परिणाम हेर्दा जिल्लाको कुल मतदाता चारलाख ३१ हजार २८२ रहेकोमा कुल मतदाताको ६०.५९ प्रतिशत दुईलाख ६१ हजार ३४६ मतदाताले मतदान गरेको देखिन्छ । जिल्लाभरि खसेको मत मध्ये ९२.३७ प्रतिशत दुईलाख ४१ हजार ४११ मत सदर भएको छ भने ७.६२ प्रतिशत १९ हजार ९३५ मत बदर भएको छ ।







