रञ्जन कुमार भण्डारी
महोत्तरी,१९ फाल्गुण ।
आसन्न प्रतिनिधीसभा सदस्यको निर्वाचनको लागि मतदान अधिकृत सहितको टोली आ आफ्नो केन्द्र पुगेर मतदान केन्द्र निर्माणमा व्यस्त भएका छन । फाल्गुण २१ गते हुने मतदानको लागि बास र डोरी लगायतको सहायताले केन्द्र निर्माण गरिरहेको भेटिएका छन । महोत्तरीका ग्रामिण भेगहरुमा मतदान केन्द्रहरुमा बास र डोरीले घेरा लगाउने लगायतका कार्यहरु भैरहेका हुन ।
मंगलवार महोत्तरीका प्रमुख जिल्ला अधिकारी,मुख्य निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखहरु समेतको संयुक्त टोलीले समेत मतदान स्थलहरुको अवलोकन गर्दै मतदान अधिकृत सहितको टोलीलाई आवश्यक निर्देशन दिएका छन ।
यता मतदान अधिकृत सहितको टोलीले केन्द्रको चारकिल्ला निर्धारण गरिसकेका छन भने सर्वदलिय वैठक वसेर आवश्यक तयारी र प्रकृयावारे जानकारी गराउदै उम्मेदवारहरुको प्रतिनिधी तोक्ने विषयमा समेत प्रकृया थालेका छन ।
महोत्तरीमा कुल २५८ मतदान स्थलमा ५३६ मतदान केन्द्र रहेकोमा मतदान सम्पन्न गर्न कुल ५३६ मतदान अधिकृत,५३६ सहायक मतदान अधिकृत,१६०८ सहायक कर्मचारी र ५३६ कार्यालय सहयोगी खटाइएका छन । यता जिल्लामा स्थायी मतदान केन्द्रको अलावा थप तिन सहायक मतदान केन्द्र समेत रहेकोमा ति केन्द्रहरुको लागि ३ मतदान अधिकृत,३ सहायक मतदान अधिकृत र ३ कार्यालय सहयोगी खटाइएका छन । सवै स्थाई र अस्थाई मतदान केन्द्रहरुमा मतदान टोलीसंगै निर्वाचन प्रहरी सहितको सुरक्षा टोली समेत खटाइएका छन ।
यता मतदान केन्द्रहरुको सुरक्षाको लागि जिल्लामा व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालित गरिएका छन । नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त तथा एकल पैदल गस्तीसंगै मोटरसाईकल र चारपांग्रे समेतका नियमित गस्तीहरु गर्न थालिएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्लामा शान्तिपुर्ण निर्वाचनको लागि आवश्यक सवै तयारी भैसकेको र सवैले पाएको जिम्मेवारी अनुसार काम गरिरहेको बताएका छन ।
महोत्तरीको कुल ४ निर्वाचन क्षेत्रमा ५६ दलगत र ८३ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन । सो मध्ये १९ महिला र १२० पुरुष उम्मेदवार छन । यहा महिला मतदाता एकलाख ९६ हजार ९७,पुरुष मतदाता दुईलाख ३५ हजार १८३ र अन्य २ गरि कुल चारलाख ३१ हजार २८२ मतदाता छन ।