रञ्जन कुमार भण्डारी
महोत्तरी,१८ फाल्गुण ।
आसन्न प्रतिनिधीसभा सदस्यको निर्वाचनको लागि मतदान टोलीहरु मतदान केन्द्र पुग्न थालेका छन । आजै क्षेत्र ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र क्षेत्र १,२ र ४ को सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मतदान सामग्री बुझ्दै मतदान अधिकृत सहितको टोलीहरु मतदान केन्द्र पुग्न थालेका हुन ।
महोत्तरीमा कुल २५८ मतदान स्थलमा ५३६ मतदान केन्द्र रहेकोमा मतदान सम्पन्न गर्न कुल ५३६ मतदान अधिकृत,५३६ सहायक मतदान अधिकृत,१६०८ सहायक कर्मचारी र ५३६ कार्यालय सहयोगी खटाइएका छन । यता जिल्लामा स्थायी मतदान केन्द्रको अलावा थप तिन सहायक मतदान केन्द्र समेत रहेकोमा ति केन्द्रहरुको लागि ३ मतदान अधिकृत,३ सहायक मतदान अधिकृत र ३ कार्यालय सहयोगी खटाइएका छन । सवै स्थाई र अस्थाई मतदान केन्द्रहरुमा मतदान टोलीसंगै निर्वाचन प्रहरी सहितको सुरक्षा टोली समेत खटाइएका छन । नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदान केन्द्रको भित्री सुरक्षा हेर्ने छन भने बाहिरी सुरक्षामा सशस्त्र प्रहरी रहेका छन । यता नेपाली सेनाले समेत गस्ती सहितको सुरक्षा व्यवस्था हेर्नेछन ।
महोत्तरीको कुल ४ निर्वाचन क्षेत्रमा ५६ दलगत र ८३ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन । सो मध्ये १९ महिला र १२० पुरुष उम्मेदवार छन । यहा महिला मतदाता एकलाख ९६ हजार ९७,पुरुष मतदाता दुईलाख ३५ हजार १८३ र अन्य २ गरि कुल चारलाख ३१ हजार २८२ मतदाता छन ।







