रोशन कुमार महतो
बर्दिबास, १८ फाल्गुण ।
बिहानको चिसो अझै पूर्ण बिरूपमा हटेको छैन । गाउँ चुनावी नाराले तातेको छ। यही बेला गाउँतिर चुनावी नाराहरू गुन्जिरहेका छन् ।
तर बर्दिबासका उत्तरी भेगका किसानहरूलाई अहिले चुनावभन्दा परबल खेतीको चटारो छ ।
बर्दिबास नगरपालिका वडा नं ४, ५, १० र ११ आसपासको जंगली क्षेत्रमा विहानैदेखि मानिसहरूको भीड देखिन्छ ।
उनीहरूको हातमा चुनावी पर्चा होइन, सखुवाको पातले भरिएका बोरा छन् । यी पात उनीहरूका लागि साधारण होइनन्। यही पात परवल खेतीको ‘ओछ्यान’ हो।
खेतमा ओछ्याएपछि जमिन ओसिलो रहन्छ, झार कम उम्रिन्छ र पछि सडेर मल बन्छ। किसानहरू भन्छन्, ‘यो पात नै पैसा हो।’
माईस्थान जंगलतिर भेटिएका विर्खलाल स्याम विहानैदेखि पात सोहोर्दै थिए। गडन्ता टोलका उनी करिब ७–८ कठ्ठामा परवल खेती गर्छन्। गाउँमा कतिपय किसानले १–२ विघासम्म परबल लगाएका छन्।
उनका अनुसार वैशाखदेखि आम्दानी सुरु हुन्छ र असोज–कार्तिकसम्म चल्छ। ‘हप्तामा एकचोटि टिपिन्छ। राम्रो उत्पादन भयो भने परिवार राम्रैसंग चल्छ,’ उनले भने ।
जंगलमा थुप्रै किसान देखिन्छन् । कोही साइकलमा बोरा बाँधिरहेका छन्, कोही मोटरसाइकलमा ओसारिरहेका। पात झरेपछि जम्मा गर्ने, खेतमा थन्क्याउने र हावाले नउडाओस् भनेर छोप्ने कामको आफ्नै ताल छ ।
चुनावबारे सोध्दा उनी मुस्कुराउँछन् ।
भन्छन्, ‘हाम्रो लागि के चुनाव ? अहिले कामको बेला हो। भोट त दिन्छौ, तर भ्रष्टाचार नगर्ने नेता चाहियो ।’
गाउँमा बाटो र खानेपानीको समस्या अझै समाधान हुन सकेको छैन । ‘अलिअलि काम त भएको छ, तर धेरै गर्न बाँकी छ,’ उनी भन्छन् ।
क्षेत्रका मेघबहादुर थापा मोटरसाइकलमा पात बोकेर फर्किदै थिए। उनी करिब डेढ विधामा परवल लगाउँछन् । ‘पैसा परबलबाटै आउँछ,’ उनी भन्छन्, ‘चुनाव रमाइलो होला, तर हाम्रो काम यही हो। काम नगरे खान पाइदैन ।’
उनका अनुसार सिंचाइ सवैभन्दा ठूलो समस्या हो। पानीको भरपर्दो व्यवस्था भए आम्दानी बढ्न सक्छ। अहिले भने वर्षा र उपलब्ध स्रोतकै भर पर्नुपरेको छ ।
परवल खेती यहांको प्रमुख नगदे बाली बनेको छ। वर्षभरि खर्च धान्न यही खेतीले सहयोग गर्छ । राम्रो सिजनमा केही किसानले हप्तामा ६–७ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्, यद्यपि सबैको अवस्था समान छैन । जंगलमै पात बटुल्दै भेटिएकी ४३ वर्षीया गंगा कुमारी साप्कोटा मगर पाँच कट्ठामा परबल लगाउँछिन् । विहान ७ बजेदेखि काम सुरु हुन्छ। घर फर्केर खाना खाएपछि फेरि जंगलतिरै । उनले सात बोरा पात जम्मा गरिसकेकी छन् । अझै १० १५ दिन लाग्ने बताउँछिन् ।
‘हप्ताको ६–७ हजार आउँछ,’ उनी भन्छिन् । वनवाट पात संकलनका लागि शुल्क लाग्दैन । तर जंगल जोगाउने विषयमा उनको चिन्ता गम्भीर छ । ‘काट्न दिदैनौं कसैलाई। वन सकियो भने खेती कसरी गर्ने ?’
उनको अनुभवमा चुनावी टोली गाउँमा हिँडेको देखिए पनि प्रत्यक्ष संवाद कम छ । ‘आफू त पात टिपिराख्या छ,’ उनी भन्छिन् । गाउँमा बाटोको अवस्था सन्तोषजनक छैन । कतै अलकत्रा हालेर अधुरै छोडिएको छ, कतै वर्षाले बगाएको छ । जंगलभित्र बनेको बाटो पनि गाउँसम्म व्यवस्थित रूपमा जोडिएको छैन । स्थानीयहरूको साझा माग स्पष्ट छ विकास चाहिन्छ, तर भ्रष्टाचार नहोस् ।
चुनाव नजिकिँदै जाँदा गाउँमा राजनीतिक चहलपहल बढेको छ । तर जंगलतिर दृश्य फरक छ। यहाँ राजनीतिक भाषणभन्दा श्रमको आवाज ठूलो छ ।
वर्दिबासका उत्तरी गाउँहरूमा अहिले प्राथमिकता स्पष्ट छ परबल खेती। चुनाव केही दिनमै सकिन्छ, तर खेतीको सिजन छोटो छ । पात नजम्मा गरे उत्पादन घट्छ । महिलादेखि वृद्धसम्म बोरा बोकेर हिँडिरहेका छन् ।
परवल खेतीले यहाँको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएको छ । सखुवाको पात प्राकृतिक मल र संरक्षण सामग्री बनेको छ । बर्दिबासको उत्तरी जंगल अहिले केवल हरियो परिदृश्य होइन–जीविकाको आधार हो ।
उनीहरू परिवर्तन चाहन्छन्, तर आफ्नो श्रमबाट आउने परिणाममै बढी भरोसा गर्छन् । चुनावपछि सरकार बदलिन सक्छ, प्रतिनिधि बदलिन सक्छन् ।
तर जंगल, पात र परबल यी तीनले जोडेको सम्बन्ध भने अहिलेका लागि अट्ट छ ।
किसानहरूको सन्देश सरल छ–विकास होस्, भ्रष्टाचार रोकिन्छ, आधारभूत समस्या समाधान होस्। तर त्यो दिन नआउन्जेल उनीहरूका लागि जंगलकै पात नै सबैभन्दा ठूलो सम्पत्ति हो ।







