विरगंज,१८ फाल्गुण ।
भारत सरकारबाट नेपाललाई प्रदान गरिएको निर्वाचनसम्बन्धी सवारी साधन सहितको सहयोग सामग्री चौथो किस्तामा हस्तान्तरण गरेको छ । आईतवार विरगंजमा आयोजित एक कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाई मिना ले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन । सहयोग स्वरुप चौथो किस्तामा ३० वटा एक टन क्षमताका ट्रक तथा अन्य सामग्रीहरू रहेको छ ।
यसअघि भारत सरकारबाट प्रदान गरिएका पहिलो तीन किस्तामा ५८० भन्दा बढी सवारी साधन तथा अन्य सामग्रीहरू नेपाललाई हस्तान्तरण गरिसकिएको छ । भारतीय पक्षबाट भइरहेको निरन्तर सहयोग र समर्थनले दुवै देशबीच विद्यमान बहुआयामिक तथा बहु–क्षेत्रीय विकास साझेदारीलाई प्रतिबिम्बित गरिरहेको र यसले भारत र नेपालका जनताबीच रहेको गहिरो पारस्परिक विश्वास र मित्रताको सम्बन्धलाई पनि प्रतीकात्मक रूपमा झल्काएको बताइएको छ ।