हुन नसकेको महोत्तरीको विकास

रञ्जन कुमार भण्डारी
महोत्तरी,१८ फाल्गुण ।
आसन्न प्रतिनिधीसभा निर्वाचनको लागि देशभरि नै उम्मेदवारहरु मत माँग्न व्यस्त छन । यहि समय महोत्तरीका चारै निर्वाचन क्षेत्रमा समेत १३९ जना दलगत र स्वतन्त्र उम्मेदवार मतदाता फकाउन घरदैलौमै पुग्दैछन । विभिन्न प्रतिवद्धता र निर्वाचित भएपछि क्षेत्र र जिल्लामा हुने विकासका सपनाहरु बाड्दैछन । तर वर्षौ देखि यहि प्रतिवद्धता र सपना सुन्दै आएका महोत्तरीका मतदाताहरु यसपाली सहजै पत्याउने मुडमा छैनन ।
सोच्दा सामान्य तर गम्भिर प्रश्नको जवाफ कुर्दै महोत्तरीका जनताले उम्मेदवारलाई कति पत्याउने हुन त्यो निर्वाचनको परिणामले देखाउने छ । तथापी कसैमाथि विश्वास गर्नै पर्ने निर्वाचन प्रकृयाको व्यवस्था छ । नेपालमा नो भोटकै कन्सेप्ट अझै नरहेको अवस्थामा जनताले मत दिनैपर्ने बाध्यता छ तर कसलाई मत दिनेभन्ने छान्न मतदातालाई समेत यसपाली भारी छ ।
महोत्तरीका ४ निर्वाचन क्षेत्र मध्ये क्षेत्र १ मा एकलाख ५ हजार ६४६,क्षेत्र २ मा एकलाख ७ हजार ५९४,क्षेत्र ३ मा एकलाख १० हजार ४३६ र क्षेत्र ४ मा एकलाख ७ हजार ६०६ गरि कुल चारलाख ३१ हजार २८२ मतदाता छन ।
पछिल्लो(२०७९) निर्वाचनको यस्तो छ अवस्था ः
पछिल्लो निर्वाचनमा महोत्तरी क्षेत्र १ मा एमालेबाट लक्ष्मी महतो कोइरीले २३४०२ मत ल्याई विजयी भएका थिए । त्यसतै क्षेत्र २ मा शरत सिंह भण्डारीले लोसपाबाट २५१९० मत प्राप्त गरि विजयी हासिल गरेका थिए । उनले २०७४ को चुनावमा समेत यहि क्षेत्रबाट ३०७२२ मत ल्याई जित आफ्नो हातमा पारेका थिए । त्यसतै क्षेत्र ३ मा २०७४ र २०७९ को दुवै निर्वाचनमा महन्ठ ठाकुरले राजपा र लोसपाबाट जित आफ्नो पोल्टामा पारेर क्षेत्रको प्रतिनिधित्व गरेका थिए । यता क्षेत्र ४ मा २०७४ को निर्वाचनमा डा.सुरेन्द्र कुमार यादवले संघिय समाजवादी फोरम र २०७९ को निर्वाचनमा महेन्द्र कुमार रायले नेपाली काँग्रेसबाट जित हासिल गरिसकेका छन । अहिले पुनः महन्थ ठाकुर बाहेक निर्वाचित सवै प्रतिनिधी निर्वाचनमा होमिएका छन । तर २०७४ र २०७९ को चुनावबाट जनताले के पाए आफ्ना पछिल्ला जनप्रतिनिधीबाट उनीहरु कति सन्तुष्ट हुन सके २०८२ को निर्वाचनको परिणामले मात्र निर्धारण गर्न सक्ने छ ।
जनताको आश कहिले हुने पुरा….
बाढीको भय र रातु नदीको कहर
महोत्तरीमा रातु नदीको लम्बाई ७० किलोमिटर भन्दा पनि वढी छ । उक्त लम्बाई चुरे देखि भारतको सिमासम्मको हो । मौसम परिवर्तन भैरहदा विभिन्न खहरे खोलाको माध्यमले यस नदीमा पानीको स्तर समेत कम र बढी भैरहन्छ । यहि पानीको वहाव महोत्तरीको चारै निर्वाचन क्षेत्रको दर्जनौ गाउ तथा वस्ती डुवान पार्दै वर्षभरि भएको विकास र नागरिकले जोगाएको अन्न देखि सवै बगाएर लग्छ । तराई हुदै भारत पस्ने यहि नदी माथिल्लो भाग फराकिलो र तल्लो भाग साँघुरो हुदा जोखिमपुर्ण रहेको छ भने कमजोर तटबन्धले जोखिम घट्न सकेको छैन । नदीको क्षमता भन्दा वढी पानी आईदिए उक्त पानीले तटबन्ध फुटाउदै मानव वस्ती र खेत तथा सडकमा आई ठुलो क्षति पुर्याउदै आएको छ ।
प्रमुख नदीको रुपमा रहेको रातु नदी सिंचाईको लागि बरदान हुनु पर्ने थियो तर जिल्लाको सिँचाई एक्लै समाधान गर्न सक्षम यो नदीे हरेक वर्ष वर्षाको समय त्रास सृजना गरिरहेछ । नदी नियन्त्रणकै लागि पटक पटक जनताले आश्वासनमात्र पाए । यसलाई बरदानमा परिवर्तन गर्न सक्ने उपाय पाएनन । पक्की तटबन्ध नै एकमात्र विकल्प भएपनि हालसम्म तटबन्ध पक्की बनाउने तर्फ कुनै नेताले ध्यान नदिएको स्थानियको गुनासो छ ।
अवैध नदी उत्खनन र चुरे दोहन
महोत्तरी बाढीको भय र रातु नदीको कहरलेमात्र पिडित नभई अवैध नदी उत्खनन र चुरे दोहनले पारेको असरले समेत पिडित छ । चुरेको अनियन्त्रित दोहन नियन्त्रण गर्न नसकिए तराईका सवै भुभाग मरुभुमि बन्न अझै धेरै समय कुर्नु पर्दैन । गर्मीयाममा तल्लो क्षेत्रमा पानीको अकालले यहि संकेत गर्ने गरेको छ । अवैध नदी उत्खनन र चुरे दोहन नियन्त्रणका लागि ठोस पहल आवश्यक रहेको जनगुनासो छ ।
बेहाल शिक्षा अवस्था
महोत्तरीका चारै निर्वाचन क्षेत्रको कुरा गर्ने हो भने क्षेत्र १ का केहि विद्यालय वाहेक अन्य क्षेत्रका प्राय विद्यालयहरुमा शिक्षक र पर्याप्त भौतिक संरचना अभावले बालबालिकाहरुको पठन पाठनमा गम्भिर असर परेको छ । केहि विद्यालयहरुमा अझै एउटै कक्षा कोठामा कोचिएर बालबालिकाहरु पढ्नु पर्दा उनले शिक्षकले पढाएको कुरै नबुझ्ने समस्या छ भने धेरै विद्यालयमा अझै विद्यार्थीलाई नपढाईदिने अवस्था समेत छ । सरकारले पचास बालबालिकामा एक शिक्षकको मापदण्ड राखेपनि महोत्तरीमात्र नभई मधेश प्रदेशको अधिकांश विद्यालयमा एउटै कक्षा कोठामा धेरै बालबालिका वसेर पढ्नु पर्ने बाध्यता छ ।
अभिभावक र शिक्षक दुवैको दायित्व र जिम्मेवारी बालबालिकालाई पढ्ने वातावरण बनाईदिनु पर्नेमा दुई आ आफ्नो जिम्मेवारी वहनमा चुकेको अवस्था छ भने राज्यकै तर्फबाट समेत चुक भएकै हो ।
सरकारले विद्यार्थी संख्या अनुसार समयमै दरबन्दी परिपुर्र्ति गर्न नसक्नु ,शिक्षकलाई समय समयमा दिनु पर्ने पुनर्ताजगी तालिमको अभावले गर्दा शिक्षक शिक्षण सिकाई प्रति ह्रास हुदै जानु ,स्थानिय सरकारले विद्यालयको नियमित अनुगमन र विद्यालयको आवश्यक्ता पुर्ति गर्न नसक्नु र अभिभावकले समेत आफ्नो बालबालिकाको सिकाई वारे जिज्ञासु नहुनु तथा समयमै विद्यालयहरुमा विद्यार्थीले पाठ्य पुस्तक नपाउनु जस्ता कारणले बालबालिकाको सिकाई परिणाममुखी हुन सकेको छैन ।
जिल्लामा सामुदायिक आधारभुत विद्यालय २२२, माध्यमिक विद्यालय ९२ र बालविकास केन्द्र ५४६ मध्ये ४५८ संचालनमा छ । उत्त तथ्यांक करिव ३ वर्ष पहिलेको भएकोमा नयाँमा यसमा केहि थपघट भएको हुन सक्ला तर यहि तथ्यांकलाई आधार मान्ने हो भने थप निजी विद्यालयहरुमा समेत अध्ययनरत रहेको बालबालिका गरि जिल्लामा विद्यालय जाने बालबालिकाको संख्या दुईलाख हाराहारीमा हुन सक्ने अनुमान गर्न सकिन्छ । तर अझै धेरै बालबालिका विद्यालयमा नाम लेखिएपनि विद्यालय शिक्षाबाट बन्चित रहेको अवस्था छ ।
यस पटक उम्मेदवार रहेकाहरुले शिक्षाको गुणस्तरमा सुधार गर्ने तरिका,विद्यालयमा विद्यार्थीको नियमित उपस्थितिको उपाय र विद्यालयलाई भौतिक रुपमा समेत सुधारका आफ्ना योजना वारे मतदातामा प्रष्ट गर्न सक्नु पर्ने हुन्छ ।
यसकै अलावा शिक्षा प्राप्त गर्न अझै महोत्तरी बाहिर बालबालिकाहरु जानु पर्ने अवस्थालाई आफ्नै जिल्ला र क्षेत्रमा प्राविधिक सहितको उच्च शिक्षाको व्यवस्थापनका योजनाहरु समेत प्रस्ट गर्नु पर्ने आवश्यकता छ ।
मणिपाल कलेज चुनावी नारा
जलेश्वरमा वर्षौ पहिले कम मुल्यमा यहाको ३५ विग्हा भन्दा वढी जग्गा मणिपालले खरिद गरेर अझै जग्गा बाझो राखेको छ । पटक पटक विभिन्न माध्यमले आवाज उठ्दा कहिले घेरावेरा र कहिले गेट र कर्मचारी बस्ने टहरा लगायत निर्माण गरेर झारो टार्ने काम मात्र हुदैछ । विभिन्न नेताले मणिपाललाई आफ्नो चुनावी प्रतिवद्धता पत्रमा प्राथमिकता साथ स्थान समेत दिएका थिए ।
रेफरर सेन्टरमा सिमित स्वास्थ्य सेवा
महोत्तरी सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वरको ईतिहास झण्डै १३० वर्ष भन्दा वढीको छ । यति धेरै वर्षको ईतिहास वोकेको प्रादेशिक अस्पताल जलेश्वर उन्नती भन्दा पनि अवनति हुदै जादा रेफरर अस्पतालको नामले परिचित भैसकको छ । अस्पताल संचालन देखि हालसम्म महोत्तरी क्षेत्र ३ र महोत्तरी जिल्लाले नै देशलाई ईतहास रच्ने क्षमता भएको नेताहरु प्रदान गरे तर अस्पतालले भने उनीहरुबाट केहि पाउन सकेन ।
श्री ३ विर शमशेर जंगवहादुर राणाले वि.सं. १९४७ मा काठमाडौंमा विर अस्पताल स्थापना गरेका थिए । सो पछि उपत्यका वाहिरका शहरहरु विरगंज,जलेश्वर,हनुमाननगर,तौलिहवा र नेपालगंजमा उनैको पालामा पृथ्वी विर अस्पतालको नामले अस्पतालहरु स्थापना भए । तत्कालिन वेला देखि वि.सं. २०२८ सालसम्म जलेश्वर अस्पतालले अंचल अस्पतालको रुपमा सेवा प्रवाह गरेको देखिन्छ ।
जलेश्वर अस्पताल वि.सं. २०२८ साल तिर तत्कालिन गृह मन्त्रि भोजराज घिमिरेको पालामा १५ शैयाको जिल्ला अस्पतालमा अवनति भयो । सोको भण्डै ४९ वर्ष पछि प्रदेश २ सरकारले पुनः जलेश्वर अस्पताललाई ५० शैयाको अस्पताल बनाउने निर्णय गरेको थियो । यो निर्णय पछि पनि प्रदेश सरकारकै धेरै त्यसता निर्णय र प्रतिवद्धता आए र आवश्वासन आए तर प्रादेशिक अस्पतालले हालसम्म स्थायी रुपमा आफ्नो समस्याको समाधान पाउन सकेन ।
वर्षौ पहिले जलेश्वर अस्पतालले कालाजार उपचारको लागि विशेष ख्याती कमाएको थियो । तर समय वढ्दै जाँदा अस्पतालको सेवा र गुणस्तर घटदोक्रममा गयो ।
रोजगारीको अधुरो सपना
आफ्नै क्षेत्र र जिल्लामा ठुुला ठुला उद्योग खुल्ला र यहाका युवाहरुले सोहिमा रोजगारी पाउनेछन । साथै यहिको विश्वविद्यालयहरुबाट डिग्री लिएर दक्ष भई युवाहरु अन्य स्थानमा र आफ्नै ठाउमा पनि जागिर गर्ने छन भन्ने सपना पनि कहिले पुरा हुने भन्ने आशामा जनता छन । हालसम्म प्राय वैदेशिक रोजगारीमा जाने युवाहरु अदक्ष कामदारकै रुपमा विदेशिनु परेको छ भने आफ्नै ठाउमा उद्योग र कलकारखानाको आश मारेका छन ।
वैदेशिक रोजगारीमा जाने युवाहरु पनि प्राय एजेन्ट र म्यानपावरहरुबाट ठगिने,उतै दुर्घटनामा परि घाईते हुने तथा ज्यान नै गुमाउने र भनेको जस्तो काम नपाएर वा काम नै नपाएर फर्कनु पर्ने लगायतका समस्याहरुको समाधानकै रुपमा देशमै रोजगारीको व्यवस्था गर्न सकिने भएपनि सरकार यसप्रति उदाशिन देखिएको छ । यहि क्षेत्रबाट निर्वाचित जनप्रतिनिधीहरुले समेत वेरोजगारीको समस्या बारे आफ्नो घोषणापत्रहरुमा उल्लेख गरिरहदा ग्राउण्डमा भने त्यो वेरोजगारी समस्या समाधानको बाटो भने खुलाउन सकेका छैनन । यसपटकको निर्वाचनमा उम्मेदवारले वरोजगारी घटाउने उपाय बारे समेत आफ्नो मतदाताहरुसंग योजना साझा गर्नु पर्ने अवस्था छ ।
कृषिमा क्रान्ति – हावाकै कुरा
देशले कृषिमा क्रान्ति ल्याउने र कृषकहरुले मनग्य आम्दानी गर्ने दाबी समेत महोत्तरीका कुनै क्षेत्रका जनताले अनुभुति गर्न सकेका छैनन । खेतमा बाली पानी अभावमा सुक्दै गर्दा कसो गरि लगाएको बाल मरेको देख्नुको सिवाय कृषकसंग अन्य केहि हुदैन । मलखाद्यकै लागि आफ्नै देशमा कालोबजारी हुदा सिमापारीबाट ल्याएर जसोतसो खेत बाझो भयो भन्ने अवस्था टार्दै कृषक ठिक्क छन । न खेतमा पर्याप्त कृषि सडकको व्यवस्था,कृषी मिटरकै लागि समेत हम्मे हम्मे पर्नु पर्ने अवस्था,मलखाद्य अभाव र सवै विधि प्रयोग गरि जसोतसो खेतमा अन्न उत्पादन गरेपनि अव्यवस्थित बजारले उनीहरुको आशालाई निराशामा परिणत गर्ने गरेको छ ।
उम्मेदवारले सिंचाईको व्यवस्था कसरी गर्ने,मलखाद्यको लागि के गर्ने र खेतमा उत्पादन भएको अन्न बजारसम्म पुर्याउन कसरी सहयोग गर्ने भन्ने प्लानिंग मतदाताहरुसंग साझा गर्नै पर्ने हुन्छ ।
सपना पुरा गर्ने पर्खाईमा उम्मेदवार
जनताले विकास चाहेको भन्नेमा दुईमत नहोला । विकास भौतिक(सडक,पुलपुलेसा,भवन आदी आदी),सामाजिक,आर्थिक,शैक्षिक,रोजगारमुखी,चेतनामुखी वा स्वास्थ्य तथा कृषीमै समेत गर्ने धेरै छ । तर यि सवै क्षेत्रका विकास गर्न पुर्व निर्वाचित जनप्रतिनिधीहरु अपेक्षाकृत नसकेको जनगुनासोका बिच वर्तमान निर्वाचनमा सहभागि दल तथा उम्मेदवारहरुलाई जनताले कसौटीमा जाचिरहेका छन । तथापी चुनावमा होमिएका दलहरु भने जनभावनालाई बुझ्दै आफुहरु जनताले चाहेको विकासको लागि प्रतिवद्ध रहेको प्रतिकृया दिन्छन ।
यस पटक परिवर्तनको आधार बन्ने कि फेरी आश्वासनमात्र ?
प्रतिनिधीसभा सदस्य निर्वाचनले क्षेत्रको प्रतिनिधीमात्र छान्ने छैन,क्षेत्रको भविष्य कस्तो हुने भन्ने नेतृत्वकर्ता छान्ने छ । आफ्नै ठाउको विकासको लागि निर्वाचित हुने जनप्रतिनिधीले दृढता पुर्वक क्षेत्रको समस्या र त्यसको समाधानको लागि चाहिने उपाय र आफ्नो प्लान लागु गराउन सक्नु पर्नेछ । महोत्तरीले दशकौ देखि बाढी नियन्त्रण,चुरे दोहन समाप्त,गुणस्तरिय शिक्षा,गुणस्तरिय स्वास्थ्य सेवा,रोजगारी र कृषिमा आधुनिकिरण सहितको सहजताको लागि कुरिरहेछ । यस पटकका उम्मेदवारले समयसिमा सहितको कार्ययोजना र जवाफदेहिता देखाउन सकेमात्र महोत्तरीको अधुरो सपना पुरा हुन सक्छ । अन्यथा फेरी निर्वाचन र फेरी उहि प्रतिवद्धता दोहोरिने छ ।