रञ्जन भण्डारी
महोत्तरी,१४ फाल्गुण ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघियता नै खारेज गर्नु पर्ने सिद्धान्त बोक्ने दलहरुसंग सावधान रह्न जनतालाई आग्रह गरेका छन । पछिल्लो चुनावमा समेत रास्वपाले प्रदेशको चुनावमा भाग नलिएकोले समेत उक्त पार्टीको रोडम्याप क्लियर भएको भन्दै उनले कुनै शव्दावलीमा नफस्न आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उद्धृत गर्दै सदनमै र बाहिर सभाहरुलाई सम्बोधन गर्ने क्रममा समेत पटक पटक लामिछानेले संघियता खारेज गर्नु पर्ने रेकर्ड नै रहेको अवस्थामा त्यसतो दलसंग सावधान रह्नु पर्ने उनको भनाई थियो । बालेन भने संघियताको पक्षमा रहेको सोधिएको प्रश्नमा अध्यक्ष यादवले बालेन दलको नेतामात्र रहेको तर दलको सभापति लामिछाने भएकोले बालेनको बोली दलको आधिकारिक बोली र निर्णय नरहेको जिकिर गरे ।
महोत्तरीको निर्वाचन क्षेत्र नं. २ को बल्वा नगरपालिका स्थित पडौलमा राखिएको पार्टी प्रवेश तथा जनता भेटघाट कार्यक्रम सम्बोधनको क्रममा अध्यक्ष यादवले मधेशमा जसपा नेपालको विकल्प नरहेको बताउदै जनताले चाहेको पहिलो दल नै जसपा नेपाल रहेको बताएका हुन । देशकै ठुलो दल भनिएकाहरुले मधेशीलाई देशको नागरिक नबुझेको र नागरिक सरह अधिकार नदिएकोले मधेशवादी दलकै आन्दोलन र बलिदानीले खोसेर अधिकार लिएको र अझै अधिकार र सम्मान लिने संघर्षमा रहिरहेको उनले बताए ।
जसपा नेपालका महोत्तरी सहित देशका विभिन्न स्थानबाट निर्वाचनमा होमिएका जसपा नेपालका सम्पुर्ण उम्मेदवार पुर्ण योग्य र सक्षम भएको बताउदै अत्यधिक मत सहित जसपा नेपालका उम्मेदवारहरुलाई निर्वाचित गराउन उनले आग्रह गरे ।







