महोत्तरी,१४ फाल्गुण ।
नेपाली काँग्रेसका उम्मेदवारहरुले चुनावको बेला गरेको वाँचा पुरा गरेनगरेको वारे पार्टीको केन्द्रिय कार्यालयले अनुगमन गर्ने नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बताएका छन । जिल्ला सदरमुकाम जलेश्वरमा बुधवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो बताएका हुन । उपसभापति शर्माले जनतालाई गरेको वाँचा पुरा नगरे सम्बन्धित नेताको कार्यसम्पादन मुल्यांकन गरि आवश्यक परे कार्यवाही समेत गर्ने बताएका हुन ।
महोत्तरी क्षेत्र ३ का नेपाली काँग्रेसका उम्मेदवार बजरंग नेपालीकोलागि मत मांग्न राखिएको कार्यक्रममा उपसभापति शर्माले जनतासंग आफ्ना नेताले गर्ने सम्पुर्ण प्रतिवद्धता पुरा गर्ने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा हुने भएकोले निर्धक्कसंग नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गरि जिताउन उनले आग्रह गरे ।
उनले थपे,’यो देश बनाउने समय हो र त्यसको लागि एकमात्र सक्षम पार्टी नेपाली काँग्रेस हो । देशलाई राजनीतिक अस्थिरताबाट स्थायित्वतर्फ, निराशाबाट आशातर्फ र कमजोर अर्थतन्त्रबाट समृद्धितर्फ लैजान कांग्रेसले फेरि नेतृत्वदायी भूमिका खेल्ने छ । ’
चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै विकासको नयाँ चरणमा प्रवेश गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले मतदातालाई लोकतान्त्रिक शक्तिको पक्षमा उभिन आह्वान गरे। ऐतिहासिक परिवर्तनका प्रत्येक चरणमा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै राणाशासन, राजसंस्थाको अन्त्य र शान्ति प्रक्रियामा माओवादी शक्तिलाई ल्याएर देशलाई द्वन्द्वबाट मुक्त गराउन कांग्रेस अग्रपंक्तिमा रहेको स्मरण गरे।
त्यसतै सर्लाहीमा आयोजित कार्यक्रमलाई समेत सम्बोधन गर्दै उनले वर्तमान प्रतिकूल अवस्थाबाट देशलाई जोगाएर अगाडि लैजाने सामथ्र्य कांग्रेससँग मात्रै रहेको दाबी गरे ।
सर्लाहीको हरिवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस जत्तिको परिपक्वता र समन्वय गर्न सक्ने तागत अन्य दलसँग नरहेको जिकिर गरे ।
सुधारिएको कांग्रेसले फागुन २१ को निर्वाचनपछि कसैलाई गाली नगरी र सबैलाई विश्वासमा लिएर देश सम्हाल्ने उनले थपे । आफ्नो मनतव्यमा थप्दै उनले भने,‘यसपटक कसैले नयाँ पार्टीलाई मतदान गर्छु भन्यो भने त्यो ’सुधारिएको कांग्रेस’ नै हो । ’ महाधिवेशनपछि बेग्लै ऊर्जा र जाँगरका साथ अघि बढेको कांग्रेसमा पुरानो अनुभवदेखि नयाँ पुस्ताको भावना बुझ्ने नेतृत्व रहेको उपसभापति शर्माले बताए ।







