रञ्जन भण्डारी
महोत्तरी,७ फाल्गुण ।
राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम हर्दिनाथले कोपिया प्रोजेक्टको सहकार्यमा महोत्तरी र धनुषाका १८० घरधुरी किसानहरुसंग धान उत्पादन सम्बन्धी आधारभुत तथ्यांक संकलन गरेको छ । टोलीले महोत्तरीको औरही नगरपालिका,भंगहा नगरपालिका र रामगोपालपुर नगरपालिकासंगै धनुषाको विदेह नगरपालिका,धनुषाधाम नगरपालिका र वटेश्वर नगरपालिकामा उक्त तथ्यांक संकलन गरेको हो ।
टोलीले किसानले सामान्यतया उत्पादन गर्ने धानको जात संगै धान उत्पादन गर्दा हुने हानी तथा लाभ लगायतका विषयमा तथ्यांक संकलन गरेको हो । तथ्यांक संकलन टोलीले चैते धानको खेतीको अवस्था र नेपाली जातको धानको उपलब्धता वारे समेत बुझेको छ ।
लुम्बिनी र मधेश प्रदेशमा हाल संचालनमा रहेको कोपिया प्रोजेक्ट लागु गर्न भन्दा अगावै उक्त आधारभुत तथ्यांक संकलन गरिएको कोपिया प्रोजेक्टका प्रोजेक्ट लिडर डा. पल्लवी सिंहले बताईन । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम मार्फत संचालनमा रहेको कोपिया प्रोजेक्टले बसन्त ऋतुको धान खेती प्रवद्र्धन गर्नुका साथै कम ग्लाइसेमिक इन्डेक्स भएका धानका जातीहरु पहिचान तथा प्रवद्र्धन गर्ने उदेश्यका साथ उक्त तथ्यांक संकलन गरिएको बताईन ।
तथ्यांक संकलन टोलीमा राष्ट्रिय धानवाली कार्यक्रमका वरिष्ट प्राविधिक अधिकृत उमेश साह,मो.फरहत अली र सुन्दर श्रेष्ठ सहित सहभागि थिए ।