रञ्जन भण्डारी
महोत्तरी,७ फाल्गुण ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको मटिहानी विहिवार आईपुगेको छ । साँधु सन्त तथा गृहस्त परिवारजनको धार्मिक आस्थाको प्रख्यात यात्राको रुपमा रहेको माध्यमिकी परिक्रमा भारतको गिरिजास्थानमा बुधवार विश्राम गरि विहिवार बिहानै मटिहानी आईपुगेको हो । परिक्रमा यात्रीहरुलाई नेतृत्वकर्ता मिथिला बिहारी र किशोरीजीको डोलालाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल,सहायक प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकाय प्रमुखहरु तथा स्थानिय नगरवासीले आज स्वागत गरेका छन ।


नगरप्रमुख मण्डलले परिक्रमालाई मटिहानीमा स्वागत गर्न पाउदा अत्यन्तै हर्षित भएको बताएका छन ।
परिक्रमा यात्रीको लागि मटिहानी नगरपालिकाले स्वास्थ्य,खानेपानी,सरसफाई,बिजुलीबत्ति शौचालय लगायतका विभिन्न व्यवस्थापन गरिएको उनले बताए । साथै आफु समेत वडाअध्यक्षहरु सहित नगरपालिकाको टोली लिएर परिक्रमा यात्रीहरुको सेवामा समर्पित रहेको बताए ।


यता स्थानिय व्यापारी,समाजसेवी र सर्वसाधारणले समेत यात्रीहरुले लागि गक्ष अनुसारको खानपिन लगायतका व्यवस्थापन गरेका छन । त्यसतै लक्ष्मी नारायण मठले समेत भोजन तथा खाद्यान्न बन्दोवस्त गरेको लक्ष्मी नारायण मठका उत्तराधिकारी महन्थ डा. रविन्द्र दास वैष्णवले बताए ।


रामसिताले मिथिलामा विहार(भ्रमण) गरेका देवस्थलहरु, राजा जनकको राज्यका चारैकोणमा अवस्थित शिवालय,उनको कुलदेवी,माता सिताको फुलवारी(जहा राम र सिताको पहिलो भेट भयो),रामसिताले नित्य होली खेल्ने स्थल कंचनवन,उनको विवाहमा मटकोरको लागि माटो उत्खनन भएको मटिहानी लगायतका मिथिलाधाम भित्रका विभिन्न धार्मिक,पौराणिक र ऐतिहासिक स्थलहरुको परिक्रमा गर्न साधु र गृहस्त सहितको टोली धनुषाको हनुमानगढीमा भेला हुदै अर्को दिन कल्यानेश्वर र कल्याणेश्वरमा संकल्प गरि भारतकै गिरिजा स्थान हुदै आज मटिहानी पुगेको हो ।
सम्भवत ः विश्वकै सवैभन्दा लामो दुरीको धार्मिक यात्राले नेपाल र भारतका धर्मस्थलहरुको परिक्रमा गर्नुलाई अत्यन्तै पुण्य यात्राको रुपमा वर्णन गरिएको छ । यहि समय कृषकहरु समेतलाई खेतमा धेरै काम नहुदा गृहस्तहरु समेत परिक्रमा यात्राको आनन्द लिने गरेका हुन ।
यता परिक्रमाको स्वागतको लागि परिक्रमा गुज्रने जलेश्वर,मडई,ध्रुवकुण्ड र कंचनवनमा समेत तयारी अन्तिम चरणमा छ । जलेश्वर नगरपालिका महोत्तरी गाउपालिका,बलवा नगरपालिका र भंगहा नगरपालिका परिक्रमा व्यवस्थापनमा प्रत्यक्ष लागेका छन ।


अगाडीको यात्रामा विहिवार मटिहानी,शुक्रवार जलेश्वर,शनिवार मडई र आईतवार ध्रुवकुण्डमा विश्राम गर्ने छ । सो पछि परिक्रमा धनुषा प्रवेश गर्नेछ ।
झाँकी,भजन किर्तन,बाजागाजा सहित गृहस्त र साधु तथा सन्तहरुको एक्कै साथ चल्ने लामो लस्करको रुपमा रहेको माध्यमिकी परिक्रमा सम्भवतः विश्वकै सवैभन्दा लामो पदमार्गको धार्मिक यात्रा हो ।
यस परिक्रमाको ईतिहास १५० देखि १७० वर्ष लामो रहेको मान्यता छ ।