रञ्जन भण्डारी
महोत्तरी,६ फाल्गुण ।
भोली विहिवार १५ दिने मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको मटिहानी प्रवेश गर्दै छ । साँधु सन्त तथा गृहस्त परिवारजनको धार्मिक आस्थाको प्रख्यात यात्राको रुपमा रहेको माध्यमिकी परिक्रमा भारतको गिरिजास्थानमा आज बुधवार विश्राम गरेर भोली मटिहानी प्रवेश गर्न लागेको हो । परिक्रमा मटिहानी प्रवेश गर्दा मटिहानीमा परिक्ररमावासीको स्वागतको लागि तयारी अन्तिम अवस्थामा छ । स्वास्थ्य,खानेपानी,सरसफाई,बिजुलीबत्ति शौचालय लगायतका विभिन्न व्यवस्थापनमा मटिहानी नगरपालिका जुटेको हो ।

मटिहानीका नगरप्रमुख हरि प्रसाद मण्डलले आफुहरु पुर्ण तयारी अवस्थामा रहेको बताए । उनले भने,‘हामी परिक्रमालाई स्वागत गर्न आतुर छौै । परिक्रमा स्वागत गर्ने सौभाग्य मटिहानीवासीलाई प्रारम्भकाल देखि हुदै आएको छ । ’ मटिहानीमा परिक्रमालाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा टोली समेत पुग्ने बताइएको छ ।

यता परिक्रमाको स्वागतको लागि मटिहानीमात्र नभई परिक्रमा गुज्रने जलेश्वर,मडई,ध्रुवकुण्ड र कंचनवनमा समेत तयारी अन्तिम चरणमा छ । जलेश्वर नगरपालिका महोत्तरी गाउपालिका,बलवा नगरपालिका र भंगहा नगरपालिका परिक्रमा व्यवस्थापनमा प्रत्यक्ष लागेका छन ।

रामसिताले मिथिलामा हुदा विहार(भ्रमण) गरेका देवस्थलहरु, राजा जनकको राज्यका चारैकोणमा अवस्थित शिवालय,उनको कुलदेवी,माता सिताको फुलवारी(जहा राम र सिताको पहिलो भेट भयो),रामसिताले नित्य होली खेल्ने स्थल कंचनवन,उनको विवाहमा मटकोरको लागि माटो उत्खनन भएको मटिहानी लगायतका मिथिलाधाम भित्रका विभिन्न धार्मिक,पौराणिक र ऐतिहासिक स्थलहरुको परिक्रमा गर्न साधु र गृहस्त सहितको टोली धनुषाको हनुमानगढीमा भेला हुदै अर्को दिन कल्यानेश्वर र कल्याणेश्वरमा संकल्प गरि भारतकै गिरिजा स्थान बुधवार पुगेको हो ।

अगाडीको यात्रामा विहिवार मटिहानी,शुक्रवार जलेश्वर,शनिवार मडई र आईतवार ध्रुवकुण्डमा विश्राम गर्ने छ । सो पछि परिक्रमा धनुषा प्रवेश गर्नेछ ।

झाँकी,भजन किर्तन,बाजागाजा सहित गृहस्त र साधु तथा सन्तहरुको एक्कै साथ चल्ने लामो लस्करको रुपमा रहेको माध्यमिकी परिक्रमा सम्भवतः विश्वकै सवैभन्दा लामो पदमार्गको धार्मिक यात्रा हो ।
यस परिक्रमाको ईतिहास १५० देखि १७० वर्ष लामो रहेको मान्यता छ ।







