विष्णु गुप्ता

महोत्तरी , ३ फाल्गुण ।

नरेश सिंह क्रिकेट एकेडमी द्वारा महोत्तरी सदरमुकाम जलेश्वरमा अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको आयोजना गरिदै छ । सदरमुकाम जलेश्वर स्तिथ ल.च.मु. जलेश्वर रंगशालामा आयोजना हुन लागेको क्रिकेट प्रतियोगिता नरेश क्रिकेट एकेडमी द्वारा आयोजना हुँदै आएको क्रिकेट प्रतियोगिताको छैठो संस्करण हो ।

यस वर्ष फाल्गुन ६ गतेदेखी आयोजना हुने अन्तर विद्यालय क्रिकेट प्रतियोगिता लिग स्तरिय हुने आयोजकले जनाएको छ । जलेश्वर स्तिथ शिशुज्ञान निकुञ्ज,न्यू मोडर्न,एडवांस लर्नर्स हिमालयन इंग्लिश बोर्डिंग तथा वीणा विद्या मन्दिर स्कूल हाल समम् यस प्रतियोगितामा सहभागि हुन आवेदन दिई सकेको जनाईएको छ ।  सहभागी विद्यालयहरुबाट कुनै प्रवेश शुल्क नलिएको आयोजकले जानकारी दिएका छन  ।

 कक्षा १०  सम्मका विद्यार्थी खेल्ने लिग स्तरिय क्रिकेट प्रतियोगितामा आईसीसी द्वारा निर्धारण गरिएको सबै नियम लागु हुनेछ । लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका दुई टीम बिच फाइनल खेल हुनेछ । विद्यालय स्तरबाट क्रिकेट प्रशिक्षण दिन तथा प्रतिभा खोज्ने मुल उद्देश्य सहित विद्यालय स्तरका विद्यार्थीहरुलाई लिग स्तरीय प्रतियोगिता आयोजना गरिएको क्रिकेट खेलाड़ी तथा प्रशिक्षक सुनिल साहले बताए  ।

 त्यस्तै क्रिकेट खेलाड़ी तथा यसवर्षको आयोजनाका प्रमुख रितेश सिंहले खेलप्रतिको आकर्षणलाई घट्न नदिन तथा महोत्तरीमा क्रिकेटको मन्चको खाँचो अनुभुति हुन नदिनका लागि नरेश सिंह क्रिकेट एकेडमीले विगत देखी हालसमम् प्रतियोगिताको आयोजना गर्दै आएको बताए । उनले “अहिले क्रिकेट प्रतिको क्रेज भने हरेक वर्गका नागरिकमा उल्लेखनीय छ । तर क्रिकेट खेलको टेक्निकल विषय,अनुशासन,नियम र वास्तविक खेल शैली बारे अझै पनि कैयौ अन्यौलता छन  । स्थानिय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेलाड़ीको विकासमा सहयोग गर्दै दर्शकलाई समेत धेरै विषय बुझ्न र खेलको आनन्दलिने अवसर दिने सिंहले बताए ।

महोत्तरी क्रिकेटमा बलियो उपस्तिथि र योगदान दिएका राष्ट्रिय खेलाडी राहुल प्रताप सिंहका स्व. बुवा नरेश सिंहको नाममा संचालन रहेको उक्त एकेडमीले सो प्रतियोगिता आयोजना गर्दै आएको छ । नरेश सिंह क्रिकेट प्रेमीका रूपमा परिचित सँगै क्रिकेट र खेलाडीको उत्थान र प्रोत्साहनका लागि सक्रिय भुमिकामा उनको महत्वपूर्ण योगदान रहेको थियो । महोत्तरीका स्थानिय तथा खेलाडीहरु को निरन्तर सहयोगले यस्ता प्रतियोगिताहरुको आयोजना सफल हुँदै आईरहेको आयोजकले जनाएका छन ।