रञ्जन भण्डारी
महोत्तरी, ३ फाल्गुण ।
महाशिवरात्रीको अवसरमा महोत्तरीको जलेश्वरनाथ मन्दिर लगायत जिल्लाकै अन्य शिवालयहरुमा दर्शनार्थीहरुको घुईचो लागेको छ । संसारकै प्रमुख महत्वपूर्ण शिवालयहरु मध्येका एक जलेश्वरनाथ महादेवको दर्शन गर्न शनिवार मध्यरात देखि नै श्रद्धालुहरु लाइनमा लागेका छन् ।
बाबा जलेश्वरनाथ र महोत्तरीकै सोनमा गाउपालिकामा रहेको मंगलनाथको मन्दिर वाहेकको शिवलिंग सम्भवतः विश्वमै कुनै ठाउमा जलभित्र विराजमान छैन । जलभित्र विराजमान जलेश्वरनाथ महादेवको दर्शन सहज बनाउन नेपाली सेना, शसस्त्र प्रहरी,नेपाल प्रहरी,आम नागरिक र पुजा व्यवस्थापन समिति तथा स्व्यम सेवकहरु बाल्टीले गुफाभित्रको जल निकाल्न व्यस्त रहेका छन । यता दण्ड प्रमाण गर्दै समेत श्रद्धालुहरु मन्दिर पुगिरहेको पुजा व्यवस्थापन समितिले जनाएको छ ।
श्रद्धालुहरुको सहजताकै लागि नेपाल प्रहरी शसस्त्र प्रहरी र एनसिसि क्याडेटहरु तथा स्वयम सेवकहरु सयौको संख्यामा परिचालन गरिएका छन । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं १ स्थित जलेश्वरनाथ महादेव मन्दिरमा समाचार तयार पार्दासम्म व्यापक भिड छ ।
शिवरात्रीको अवसरमा जलेश्वरनाथ महादेवका साथै टुटेश्वरनाथ महादेव तथा अन्य विभिन्न शिवालयहरुमा भक्तजनहरु पुगेका छन ।
नेपाल रेडक्रस सोसाईटी,नगरपालिका,स्वास्थ्य कार्यालय लगायतका संयुक्त सहयोग तथा विभिन्न संस्थाहरु समेतको सहयोगमा मेडिकल क्याम्प,हेल्प डेस्क लगायत संचालन गरिएको छ । यता शिवरात्रीको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्टले महोत्तरीका सवै शिवालयहरुमा सुरक्षा व्यवस्था चुस्त पारिएको बताए । जलेश्वरनाथ महादेव जलभित्र विराजमान रहेका र उक्त जल कुनै पनि मेसिनरी सामानले निकाल्न नमिल्ने भएकोले नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी तथा नागरिक समाजले समेत गुफा भित्रको जल बाल्टीले नै निकालेर शिवलिंगको दर्शन सर्वसाधारणलाई गराउने गरेका छन । जलेश्वरनाथप्रति आम मानिसहरुको आस्था दिनप्रतिदिन वढ्दै जानुले पनि वर्षेनी दर्शनार्थीको संख्या वढ्दै गएको हो । शिवरात्रीको पुर्व तयारीको क्रममा मन्दिर तथा नगर सरसफाई एवं शोभा यात्रा समेत गरिएको थियो ।
यस्तो छ ईतिहास ः
जलेश्वरनाथ महादेश आपरुपी प्रकट भएको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ । खोज पत्रकार राकेश प्रसाद चौधरीका अनुसार गुफाको १६ सिढी तल गुफाको मध्यभागमा शिवलिंग स्थापित रहेको र शिवलिंगको पश्चिम भागमा अर्धचन्द्राकार चिंह अंकित रहेको छ । सोहि भएर नै धार्मिक ग्रन्थहरुमा समेत,“जलेश्वरो महालिंग रुद्रेन स्थापित स्वयमु ।” भनेर लेखिएको छ ।
बाबा जगदिशनाथले फेला पारेको शिवको गुफाको माथिल्लो भाग पछि मुगलशैलीमा निर्माण गरि मन्दिरलाई भव्य बनाइएको छ । मन्दिर परिसरमा दिनहुँ पूजा, मुण्डन, विवाह गर्नेहरुको पनि भीड लाग्ने गरेको छ ।