विश्वासको कसौटीमा नेता,परिवर्तनको सोचमा मतदाता
रञ्जन भण्डारी
महोत्तरी,२५ माघ ।
देशमा अहिले चुनावी माहौल छ । चिया पसल देखि टोल टोलमा जम्मा हुने वृद्ध तथा युवा समुहमा
उम्मेदवारहरु वारे चर्चा चल्ने गरेको छ । कुनै एक पार्टीका वा स्वतन्त्र उम्मेदवारका नेता र समर्थकले आफ्नो नेताबारे जोरसोरका साथ उहा नै जित्ने भन्ने ठोकुवा गर्दैछन भने सोहि समुहमा हुने विपक्षका नेता वा समर्थकले ति दावी खारेज गर्दै आफ्नो उम्मेदवारको वाहवाही गर्दैछन । तर सवैले आफ्नै डम्फु बजाईरहदा र खासगरी महोत्तरीको क्षेत्र ३ कै कुरा गर्दा पुराना नेताहरुले गरेका काम त्यसवाट जनताले पाएको सन्तुष्टी वा असन्तुष्टीका साथै नयाँले पुरा गर्न सक्ने वा गर्न नसक्ने कार्यवारे विश्लेषण पनि हुनु आवश्यक छ ।
जनताले विकास चाहेको भन्नेमा दुईमत नहोला । विकास भौतिक(सडक,पुलपुलेसा,भवन आदी आदी) हुन सक्छन ,सामाजिक हुन सक्छन,आर्थिक हुन सक्छन,शैक्षिक हुन सक्छन वा स्वास्थ्य तथा रोजगारी वा कृषीमै समेत हुन सक्छ । तर यि सवै क्षेत्रका विकास भयो वा भएन भन्ने हेर्न भने जरुरी छ ।
महोत्तरी क्षेत्र ३ वारे हामीले चर्चा गरिरहदा संघियता पछि २०७४ मा प्रतिनिधीसभाको चुनाव जितेको दल राष्ट्रिय जनता पार्टीवारे चर्चा आवश्यक छ । सोहि दलबाट तत्कालिन समय पार्टी अध्यक्ष महन्थ ठाकुरले खसेको सदर मत ४४ हजार ९७२ मध्ये २६ हजार ८४५ ल्याई आफ्नो प्रतिपक्षी एमालेका उम्मेदवार विजय चौधरीलाई १८ हजार १६९ मतको मतान्तरले हराएका थिए । मधेश आन्दोलनको राप र तापले यति धेरै मतान्तरले निर्वाचित हुन उनलाई सघाएको थियो । सोहि निर्वाचनमा उनले आफ्नो पाच वर्षे कार्यकाल पुरा गरे ।
पुनः २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ब्यानरमा पार्टीको अध्यक्ष कै नाताले होमिए । तर यस पटक उनी निर्वाचित भएपनि २०७४ जतिको मतान्तरले उनी विजयी हुन सकेनन । २०७९ मा यस क्षेत्रमा कुल सदरमत ५५ हजार ४०३ मध्ये उनले १६ हजार ३७५ मात्र ल्याउन सके । आफ्ना निकटतम प्रतिद्धन्दी तत्कालिन जनता समाजवादी पार्टीका उम्मेदवार हरि नारायण यादवसंग उनको मतान्तर केवल २ हजार ५० को थियो ।
२०७४ र २०७९ मा नेता ठाकुरले चुनाव लडिरहदा उनले दुवै पटक आफ्नो पार्टीको घोषणापत्र समेत जारी गरेका थिए । २०७४ को घोषणापत्रमा लोकतन्त्र,संघीयता,मिश्रीत निर्वाचन प्रणाली,स्वतन्त्र,स्वच्छ र प्रविधियुक्त निर्वाचन,कार्यकारी प्रधानमन्त्री र आलंकारी राष्ट्रपति,समावेसी राज्य संयन्त्र,साझा राष्ट्रियता,नेपाल सुहाउँदो अर्थ व्यवस्था र राष्ट्रहितमा विदेश निती वारे आफ्नो धारना र पक्ष सार्वजनिक गरेका थिए । त्यसतै संविधानको संसोधन सम्बन्धमा सोही वेलाको घोषणापत्रमा संविधान अपुर्ण रहेको भन्दै प्रादेशिक सिमानाहरु,संघीयता कार्यान्वयनका व्यवस्थाहरु,संघ र प्रदेशको विचमा गरिएको अधिकार बाडफाड,नागरिकताको बारेमा राखिएका प्रावधान,भाषासंग जोडिएका विषयवस्तु र समावेशिताका आधार र अवस्थाप्रति असहमति जनाएका थिए । पार्टीले आफ्नो प्रतिवद्धतामा बाढी पहिरोको स्थायी समाधान,हुलाकी मार्ग,थप सडक संजाल र रेलसेवाको विस्तार तथा जनकपुरमा अन्तराष्ट्रिय पर्यटन स्थल एवं विश्व हिन्दु केन्द्र,विरगंजमा नेपालको आर्थिक कारोवार र व्यापार को प्रमुख केन्द्रको पहिचान सहित युवामैत्री निति तथा कार्यक्रम,किसान मैत्री निति तथा कार्यक्रम गरिव मैत्री निति तथा कार्यक्रम वैदेशिक लगानी आकर्षण र निजी क्षेत्र प्रोत्साहन,शहिद स्तम्भ एवं शहिद स्मारक निर्माण र हरेक क्षेत्र विशेष क्षेत्रको वाचा गरेका थिए ।
त्यसतै दिर्घकालिन द्रुत विकासका लागि निति तथा कार्ययोजना तहत कृषि,सिंचाई,उर्जा,सडक तथा अन्य पुर्वाधार,उद्योग,व्यापार,सहकारी,पर्यटन,शिक्षा,स्वास्थ्य,वन,भुमि,श्रम, महिला बालबालिका तथा वृद्धवृद्धा,युवा,खेलकुद र सुचना,सुचना प्रविधि र संचार निति मा कार्य गरिने समेतको प्रतिवद्धता जनाएको थियो ।
यद्यपी २०७९ को निर्वाचनमा उनी अध्यक्ष रहेकै पार्टीबाट जारी भएको घोषणापत्रमा समेत संविधानको पुर्णता,पहिचान सहितको संघीयताको व्यवहारिक रुपान्तरण,समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभुति,हरेक विभेदबाट मुक्त,नागरिकता विहिन अनागरिकलाई नागरिकता वितरणको सुनिश्चितता र लोकतान्त्रिक समाजवादलाई जनहितमा व्यापक अभ्यास गर्दै भुई स्तरमा नै लोकतन्त्र,सुशासन र जनकल्याणलाई स्थापित गर्न लोसपा प्रतिवद्ध रहेको उल्लेख थियो । यस घोषणापत्रमा सक्षम नेतृत्व,प्रभावकारी सेवा,भ्रष्टाचार रहित सरकार, शिक्षा,स्वास्थ्य,महिला सशक्तिकरण,कृषीको आधुनिकिकरण,यान्त्रिकीकरण र बजार व्यवस्थापन,चुरे दोहन नियन्त्रण,युवा सशक्तिकरण र उद्यमशिलता प्रवद्र्धन,प्रभावकारी विपद व्यवस्थापन,भौतिक पुर्वाधार निर्माण जनकपुर,विरगंज र विराटनगर र लुम्बिनी लगायतका ठाउको २०७४ कै बुँदा लगायत करिव करिव उस्तै र सोहि कुराहरु वारे दुवै पटकको घोषणापत्रका कुराहरु उनको एक पुर्ण र एक अल्प कार्यकालमा कति पुरा भए त्यो जनताले मुल्यांकन गर्दैछन ।
वर्तमानमा नेता ठाकुर आफै प्रत्यक्ष निर्वाचनमा सहभागि नरहेपनि उनको ठाउमा छोरी डा.मिनाक्षी ठाकुर चुनावी मैदानमा छिन । डा. ठाकुर स्त्रीरोग विशेषज्ञ हुन र अन्य विविध कोणबाट उनी योग्य हुनसक्ने भएपनि उनी परिवारवादको आरोप खेप्दैछिन भने पार्टीबाटै बागी भएका स्वतन्त्र उम्मेदवार हरि नारायण यादव,एमालेबाट अलग भएर चुनावमा होमिएका राम आधार कापर,उज्यालो नेपालबाट चुनावमा डटेका रंजित साह,राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका उज्वल झा,जनमत बाट चुनावमा होमिएका अरविन्द ठाकुर र पछिल्लो दुई पटक महन्थ ठाकुरकै कारण काँग्रेसबाट उम्मेवारी नै नपरेर यसपटक काँग्रेसबाटै चुनावमा सहभागी भएका बजरंग नेपाली समेतसंग कडा टक्कर छ । यता प्रखर र निखारिएका नेताहरु मो. रिजवान अंसारी,कैलाश महतो समेतले चुनौती दिनेछन । त्यसतै हिन्दु र सनातनको कुरा लिएर रजनिश राज पाण्डेय,विनय कुमार मिश्र तथा राजेश्वर यादव समेत आ आफ्नो दलबाट मत जोड्ने प्रयास गर्दैछन । यसका अलावा समेत केहि स्वतन्त्र र केहि दलगत उम्मेदवारहरुसंग पर्याप्त मत छ । यस क्षेत्रमा दलगत उम्मेदवारीमात्र १५ वटा छ भने स्वतन्त्रबाट २६ जना उम्मेदवार छन ।
विकासको मुद्दामा जनता निराश छन ः
महोत्तरी क्षेत्र ३ मा यसपटक मतदान गर्ने मतदाताको संख्या एकलाख १० हजार ४३६ छ । यसमा महिला मतदाता ५० हजार ८८६ र पुरुष मतदाता ५९ हजार ९५० छन । पछिल्ला निर्वाचनहरुमा खसेको मतको परिणाम हेर्दा तथा वर्तमान बदलिदो परिवेश हेर्दा ६० देखि ७० प्रतिशत मत बाकसमा खस्ने अनुमान गरिएको छ । तर मतदाताको मुड भने अन्य निर्वाचन भन्दा फरक छ ।
मतदाता पुराना नेताहरुबाट पुर्ण सन्तुष्ट हुन सकिरहेका छैनन भने नयाँहरुको वेग चलेपनि कतै नयाँले पनि पुरानै जस्तो मत लिएर निराश नै गर्ने हुन कि भन्ने चिन्तामा छन । अहिले परिवर्तनका कुराहरु भैरहेका छन । तर यहि परिवर्तनका कुरा मधेश आन्दोलन र त्यो भन्दा पहिलेको अवस्थामा समेत चलेकै हो । त्यती बेला अहिले वृद्ध अवस्थामा रहेका नेताहरु नै तरुण थिए र जनतालाई ठुला ठुला सपना देखाएका थिए । जनताले उहीबेला मत पनि दिए तर अपेक्षाकृत जनताले विकास देख्न सकेनन । विकास नभएको भने हैन तर हुनु पर्ने गतिमा विकास नहुदा मतदाताले मत कता हाल्ने भन्नेमा अहिले नै स्पष्ट हुनु भुल हुन सक्छ ।
क्षेत्र ३ का प्रमुख मुद्दाहरुमा पहिले मणिपालले लिएको जग्गामा हालसम्म कुनै कलेज स्थापना हुन नसक्नु । सोहि बारे पटक पटक नेताहरुले आश्वासन दिएपनि वर्तमान समयसम्म प्रगती हुन नसक्नु । जलेश्वरनाथ महादेव मन्दिर,मटिहानी स्थित लक्ष्मी नारायण मठ लगायतका यस क्षेत्रका मठ मन्दिर र शक्तिपिठहरुको अपेक्षाकृत व्यवस्थापन हुन नसक्नु,शिक्षामा अझै भौतिक तथा गुणात्मक सुधार हुन नसक्नु,स्वास्थ्य कै क्षेत्रमा प्रादेशिक अस्पताल जलेश्वर वारे पटक पटक प्रदेश सरकारबाट पत्र देखाएर जनता ठग्न खोज्नुले पनि नेताहरुप्रतिको विश्वास घटेको देखिन्छ । वर्षौ पुरानो राबिम क्याम्पसको बेहाल अवस्था,सपना देखाइएको नर्सिंग क्याम्पसको अस्तित्व नै नहुनु र सरुवा रोग अस्पतालको सपना हालसम्म विपनामा परिनत हुन सकेको छैन भने सुख्खा बन्दरगाहकै फाईल समेत कता कता हराएको हो वा लुकाइएको हो भन्ने समेतको पत्तो नहुदा क्षेत्र ३ मा विकासकै खडेरी परेको मतदाताहरुले अनुभुति गर्दैछन ।
यता युवाहरु वैदेशिक रोजगारीमा पलायन भैरहदा युवालाई स्वदेशमै रोजगारको हालसम्म कुनै व्यवस्थापन हुन नसक्नुका साथै कृषी क्षेत्रमै सुधारको अवस्था देखिएको छैन । त्यसतै बाढीको उच्च जोखिममा रहेको क्षेत्र ३ मा बाढीबाट पुर्ण मुक्तीको लागि स्थायी समाधान वारे समेत नेताहरु चुकेका छन । त्यसतै गर्मीमा खानेपानी र खेतमा समेत पानी अभावको सामना गर्नु परेको खानेपानी उपभोक्त र कृषकको लागि नेताका प्रतिवद्धता कति प्रभावकारी हुन्छ हेर्न बाकि छ ।







