रञ्जन भण्डारी
महोत्तरी,२१ माघ ।
महोत्तरी क्षेत्र ३ बाट बागी भई स्वतन्त्र उम्मेदवारी दिएका हरि नारायण यादवको समर्थनमा पार्टीका नेता कार्यकर्ताहरु उभिन थालेपछि जसपा नेपाल महोत्तरीले प्रेस विज्ञप्ती निकाल्दै आधिकारिक उम्मेदवार विरुद्धको गतिविधीमा नलाग्न उर्दी जारी गरेको छ । विज्ञप्तीमा पार्टीका कतिपय नेता तथा कार्यकर्ताले आधिकारिक उम्मेदवार विरुद्ध गतिविधी गरेको सुचना प्राप्त भएको भन्दै पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ । पार्टीका अध्यक्षद्वय रामबाबु साह र राम नरेश रायको संयुक्त हस्ताक्षर रहेको सो विज्ञप्तीमा अव उपरान्त आधिकारिक उम्मेदवारको विरुद्धमा कुनै किसिमको गतिविधी नगर्न,नगराउन सचेत गराइएको साथै पार्टी र आधिकारिक उम्मेदवार विरुद्ध गतिविधी गरेकोमा पाइएमा पार्टी विधान अनुसार अनुशासनको कार्यवाही हुने जनाइएको छ ।
महोत्तरी क्षेत्र ३ मा पछिल्लो दुई पटक प्रतिनिधी सभा निर्वाचनमा विजयी भएका वर्तमान जसपा नेपालका संरक्षक महन्थ ठाकुरले आफ्नै छोरीलाई टिकट दिएको विरोधमा हरि नारायण यादवले उम्मेदवारी दिएपछि यादवको समर्थनमा पार्टीका केहि नेता कार्यकर्ताले मत माँग्न थालेको जानकारी पछि पार्टीले विज्ञप्ती जारी गरेको हो । तथापी विज्ञप्तीमा भने क्षेत्रबारे खुलाइएको छैन ।







