रञ्जन भण्डारी
महोत्तरी,७ माघ ।
प्रतिनिधी सभा निर्वाचनको लागि महोत्तरीका ४ निर्वाचन क्षेत्रबाट १२४ पुरुष र १९ महिला सहित कुल १४३ को उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा ५६ दलगत र ८७ स्वतन्त्र उम्मेदवार छन । महोत्तरीमा मतदाता सुचिमा जम्मा २ जना यौनिक तथा लैंगिक अल्पसंख्यक रहेपनि कुनै दलबाट वा स्वतन्त्रबाट उनीहरुको उम्मेदवारी परेन ।
महोत्तरी क्षेत्र १ बर्दिवास स्थित निर्वाचन कार्यालयमा दलबाट १३ र स्वतन्त्र १४ गरि २७ मनोनयन दर्ता भएकोमा उम्मेदवारी दर्ता गराएकोमा २२ पुरुष र ५ महिला छन । त्यसतै क्षेत्र २ बाट १५ दलगत र २२ स्वतन्त्र गरि कुल ३७ जनाको उम्मेदवारी परेकोमा सो मध्ये ३२ पुरुष र ५ महिला छन । यता क्षेत्र ३ मा दलबाट १५ र स्वतन्त्र २७ गरि कुल ४२ जनाको उम्मेदवारी परेकोमा ४० पुरुष र २ महिला छन । त्यसतै क्षेत्र ४ मा दलबाट १३ र स्वतन्त्र उम्मेदवारी २४ परेकोमा अन्य क्षेत्र भन्दा महिलाको सहभागिता थोरै वढी देखिएको छ । यस क्षेत्रमा ७ महिला र ३० पुरुष उम्मेदवारी दर्ता गराएका छन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले चारै निर्वाचन क्षेत्रमा परेको मनोनय उपर माघ ७ गते बिहान १० बजे देखि ३ बजेसम्म उम्मदेवार विरुद्ध उजुरी दिने समय रहेको बताउदै सो पछि ५ बजेदेखि माघ ८ गते साझ ५ बजेसम्म परेको उजुरी उपर छानविन हुने जनाएको छ । मुख्यन निर्वाचन अधिकृत माधव प्रसाद अधिकारीले माघ ८ गते साझ ५ बजे देखि ७ बजेसम्म नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाउदै माघ ९ गते बिहान १० बजे देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने बताए । मुख्य निर्वाचन अधिकृत अधिकारीले माघ ९ गते १ बजे देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सो पछि निर्वाचन चिन्ह प्रदान गरिने जनाएका छन ।