रञ्जन भण्डारी
महोत्तरी,१ माघ ।
जिल्ला सदरमुकाम जलेश्वरमा अझै सुरक्षाको प्रत्याभुति हुन सकेको छैन । सदरमुकाममै बुधवार मध्यरातमै भएको चोरीले सुरक्षामाथि प्रश्न उठाएको छ । जलेश्वर नगरपालिका २ जिरोमाईल चौकमै प्रहरी रातभरि ड्युटी बसेको स्थानबाट ५० मिटर भन्दा पनि कम दुरीमा चोरी भएर पनि प्रहरीले सुईको समेत नपाउदा सुरक्षामाथि प्रश्न उठेको हो ।
जनकपुर स्थित घरमा माघे संक्रान्ति पुजाको लागि राती ९ बजे पछि सपरिवार गएका जलेश्वर नगरपालिका २ निवासी राजिव सिंहको घरको मुल ढोका फुटाई भित्रका दराजहरु समेत तोडी नगद र गहना चोरी गरिएको हो । बिहान सोहि घरमा बाहिरपट्टीबाट रहेको पसलका संचालक पसल खोल्न आएपछि मुल ढोका फुटेको देखेर घरधनी सिंहलाई खवर गरेका थिए । सिंह दम्पती घर आएर हेर्दा करिव दराजहरु सवै टुटेर कपडा र सामानहरु फैलिएको अवस्थामा देखेका थिए । दराजमा रहेको ३५ हजार नगद र गहनाहरु चोरी भएपनि समाचार तयार पार्दासम्म प्रहरीले मुचुल्का नउठाएकोले चोरीको यकिन विवरण भने आउन सकेको छैन ।
घरधनीले छेउमै प्रहरी हुदा समेत राती चोरी हुनुले प्रहरीको ड्युटीप्रति रुष्टता व्यक्त गरे । यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले चोरीको घटनाबारे जानकारी भएको बताउदै प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए । जेन जि आन्दोलनको समय जलेश्वर कारागारबाट कैदीबन्दी भागेपछि समेत चोरी लगायतका अपराधका घटनाहरु बढेको छ ।







