विष्णु गुप्ता
महोत्तरी, १ माघ ।

सामाजिक सदभाव कायम राख्न तथा समाजलाई हिंसा मुक्त बनाउने उद्देश्य सहित सामाजिक सचेतना फैलाउन मानव अधिकार तथा शान्ति समाज महोत्तरी शाखाले सदरमुकाम जलेश्वरमा शान्तिपूर्ण रयाली सहित प्रदर्शन गरेको छ ।

सदरमुकाम स्तिथ खैरा चोकबाट सुरुभएको शन्तिपूर्ण रयाली प्रदर्शनमा सहभागीहरूले “शान्ति हाम्रो अधिकार, अहिंसा हाम्रो पहिचान” भन्ने मूल नारासहित ब्यानर र विभिन्न प्लेकार्ड सहित प्रदर्शन गरेका थिए।

शान्ति हाम्रो अधिकार, अहिंसा हाम्रो पहिचान, सदभाव हाम्रो जीवनधारा, सहिष्णुता हाम्रो स्वाभिमानको मुख्य नारा सहित
समाजिक सञ्जाल तथा सूचना प्रविधिको बिबेक सम्मत प्रयोग गरौ, अफवाहको पछाडि नलागौ भरपर्दो सूचनाको श्रोतमा विश्वास गरौ, समृद्धिका लागि हिंसामुक्त नेपाल लगायतका नारा सहितको प्लेकार्ड बोकी शान्तिपूर्ण रयाली प्रदर्शन सदरमुकामको मुख्य बाजार क्षेत्र हुँदै कोणसभामा परिणत भएको थियो ।

सदरमुकाम स्तिथ जलेश्वरनाथ महादेव मन्दिर अगाडि आयोजना भएको कोणसभामा सदभाव प्रवर्धन तथा हिंसा र घृणा खारेजीका विषयमा केन्द्रित भई सहभागीहरुले आ-आफ्ना धारणा समेत प्रस्तुत गरेका थिए ।
समाज र सामाजिक सञ्जालमा देखिएका विविध घटनाक्रमहरु औल्याउदै वितृष्णा मुक्त समाजको आधार आपसी सदभावको प्रवर्धन तथा हिंसा र घृणा खारेजिले मात्र संभव हुने धारणा प्रस्तुत गरिएको थियो ।

सभालाई संबोधन गर्दै मानव अधिकार तथा शान्ति समाज महोत्तरी शाखाका सभापति सुभाष बिच्छाले समाजलाई एकताबद्ध राख्न , सदभाव प्रवर्धन गर्न र समाजलाई हिंसा र घृणा मुक्त बनाउन जनजागरणका लागि मानवअधिकार तथा शान्ति समाज निरन्तर सक्रिय प्रयासहरु गर्दै आईरहेको जानकारी दिए । उनले ” समाजलाई हिंसा र घृणा मुक्त बनाई राख्न तथा सदभाव प्रवर्धन गर्न प्रत्येक व्यक्तिको प्रमुख दायित्व रहेको बताए । यसका निम्ति नागरिक,समाज र मानव अधिकार तथा शान्ति समाज एकजुट भएर सदभाव बिगर्ने,हिंसा घृणा उतपन्न हुने अवस्थाहरु प्रति समेत चर्चा गर्दै हातेमालो गर्दै समाजमा शान्ति स्थापना गर्न अग्रसर रहने बताए ।

उक्त कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज महोत्तरी शाखाका पदाधिकारी, जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष शिवचन्द्र चौधरी लगायत विभिन संघसंस्था सँग आबद्ध प्रतिनिधि तथा स्थानियको उपस्थिति रहेको थियो ।