विष्णु गुप्ता
महोत्तरी,२९ पौष ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय महोत्तरीको सभाहलमा “सर्वपक्षिय सद्भाव बैठक” सम्पन्न भएको छ । मधेश प्रदेश सभा सदस्य मा.रजि हैदर, जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्ण, एकडारा गाउँपालिकाका अध्यक्ष दिप नारायण मण्डल, सम्सी गाँउपालिकाका अध्यक्ष रामनाथ यादव, जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक हेरम्ब शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं.९ हे.क्वा.महोत्तरिका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक शेर बहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय महोत्तरीका उपल अनुसन्धान निर्देशक चन्दन कुमार झा, जलेश्वर उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष शिव चन्द्र चौधरी तथा विभिन्न राजनितिक दलका प्रतिनिधी,संघसंगठन प्रतिनिधी लगायतका उपस्थितिमा “सर्वपक्षिय सद्भाव बैठक” सोमवार सम्पन्न भएको हो ।
उक्त वैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा “जिल्ला शान्ति तथा समाजिक सद्भाव समिति” गठन गर्ने निर्णय गरेको हो । जिल्लाको सामाजिक शान्ति र सद्भावलाई तल्लो तहसम्मै मजबुत बनाउन जिल्लास्थित प्रत्येक स्थानीय तहमा पालिका प्रमुख संयोजक रहने गरी “स्थानीय शान्ति तथा सद्भाव समिति“ गठन गर्ने निर्णय समेत भएको हो ।
यस्तो छ बैठकको निर्णयहरु ,
१. सामाजिक सद्भाव र सचेतना अभिवृद्धि सम्बन्धमाः जिल्लामा पुस्तौंदेखि रहि आएको धार्मिक तथा साम्प्रदायिक सद्भावलाई अक्षुण्ण राख्नका लागि सबै पक्षले आ–आफ्नो स्थानबाट सकारात्मक भुमिका निर्वाह गर्ने निर्णय गरियो । कुनै पनि किसिमको द्वन्द्व वा मतभेद हुन सक्ने सम्भावना देखिएमा सम्बन्धित समुदायका अगुवाहरूले तत्काल पहल गरी आ–आफ्नो समुदायलाई द्वन्द्वको नकारात्मक परिणामबारे सचेत गराई वैमनस्यता सृजना हुन नदिने वातावरण तयार गर्ने प्रतिवद्धता व्यक्त गरियो ।
२. व्यक्तिगत कसुर र कानुनी कारवाही सम्बन्धमाः कुनै व्यक्ति विशेषले कुनै धर्म विशेषलाई बाधा पुग्ने वा भावनात्मक रूपमा नकारात्मक असर पर्ने गरी अभिव्यक्ति दिएमा वा सामाजिक सञ्जालको दुरुपयोग गरी घृणा फैलाएमा, त्यसलाई व्यक्तिगत कसुर मानी कानुनी प्रक्रिया अगाडि बढाइनेछ । यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कुनै पनि समुदाय वा समूहले धार्मिक वा साम्प्रदायिक संरक्षण नदिने र दोषी उपर हुने कानुनी कारवाहीमा सबै पक्षले पूर्ण सहयोग पुर्याउने ।
३. जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन सम्बन्धमा गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा च.न. ९८७ मिति २०८२÷०९÷२२ को निर्देशन बमोजिम जिल्लामा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न “जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति“ गठन गरीयो ।
४. अन्तरक्रिया र समन्वय सम्बन्धमाः स्थानीय स्तरमा सामाजिक शान्ति र सद्भाव कायम गर्नका लागि आवश्यक परेको समयमा सोही समितिले समसामयिक विषयमा छलफल, अन्तरक्रिया र समन्वय गर्नेछ । कुनै पनि विवादलाई स्थानीय स्तरमै संवादको माध्यमवाट समाधान गर्न र जिल्ला प्रशासन कार्यालयसँग निरन्तर समन्वयमा रहन यो समिति सक्रिय रहने निर्णय गरियो ।







