रञ्जन भण्डारी
महोत्तरी,२८ पौष
रोजगारीको अभाव झेलिरहेको युवाहरु कतै मौका पाउदा थोरै कमाउन सकिन्छ कि भन्ने उदेश्यले रोजगारीको अवसर समाउने भरपुर प्रयास गर्छन । यसैको उदाहरण अहिले निर्वाचन प्रहरी भर्नाको लागि दरखास्त लिने स्थलहरुमा हेर्न सकिन्छ । आइतवार जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रांगनमा युवाहरुको ठुलो भिड आफ्नो दरखास्त बुझाउन लामबद्ध थिए । कोहि कागजात मिलाउदै,कोहि कागजात वारे जानकारी लिदै,अधिकांश युवा आफ्नो दरखास्त दर्ता गराउन प्रकृया बुझ्दै र अनुसरण गर्दै थिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले शुक्रवार,शनिवार र आइतवार गरि तिन दिनमा एकहजार जति फाईल दर्ता भैसकेको र अझै हुने प्रकृयामा रहेको बताए । उनले दरखास्त दिनेको संख्या अझै बढ्ने अवस्था रहेकोले विभिन्न काउण्टर मार्फत दरखास्त लिने व्यवस्था मिलाइएको बताए ।
उनले दरखास्तको नियम प्रकृया र दरखास्त दिनेको रेकर्ड प्रहरी रेकर्डसम्म मिलाउन विभिन्न चरणहरु रहेकोले भ्याउनेजतिलाई सोहि दिन र नभ्याउनेलाई अर्को दिन दर्ता गरिएको प्रवेशपत्र लिएर जाने भन्ने गरिएको बताए । उनले कोहि टाढाबाट समेत आउने भएकोले प्रहरी कार्यालयबाट सक्दो सोहि दिन प्रवेश पत्र दिने प्रयास भएको तथापी धेरै सम्भव नहुदा अर्को दिन आउन भन्ने गरिएको बताए ।
एसपी शर्माले महोत्तरीमा नेपाल प्रहरी तर्फ तिनहजार ४८३ र सशस्त्र प्रहरी बल,नेपाल तर्फ ४२९ गरि कुल तिनहजार ९१२ निर्वाचन प्रहरीको मांग भएको थपे ।
दरखास्त माघ १ गतेसम्म दिन सकिनेछ ।







