धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तु, असोज २९ गते।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–२, लोहरौलामा रहेको श्री इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूहको १६औँ साधारण सभा तथा ५औँ अधिवेशन आज २०८३ साल असोज २९ गते सम्पन्न भएको छ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद् तथा मन्त्री जानकी प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी, गौतम बुद्ध साझेदारी वनका अध्यक्ष प्रवेज आलम खान, विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. २ का वडाध्यक्ष नेपाल चौधरी, इन्द्रेणी सामुदायिक वनका अध्यक्ष बनवारीलाल चौधरी तथा डिभिजन वन कार्यालय, चन्द्रौटाका डिभिजनल वन अधिकृत (डीएफओ) गणेश बहादुर थर्कालगायत विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा गाउँका वन उपभोक्ता, बडघर, युवा तथा दिदीबहिनीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
सामुदायिक वनको संरक्षण, संवर्द्धन, दिगो व्यवस्थापन तथा वन उपभोक्ताहरूको हितका विषयलाई प्राथमिकतामा राख्दै आयोजित सभामा वनको विकास र व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गरिएको जनाइएको छ।
कार्यक्रम सम्पन्न भएको जानकारी इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बनवारीलाल चौधरीले दिनुभएको हो।
सामुदायिक वनले स्थानीय स्तरमा वन तथा वातावरण संरक्षण गर्नुका साथै जैविक विविधताको रक्षा र प्राकृतिक स्रोतको दिगो उपयोगमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।