महोत्तरी,२२ असोज ।
दशैं,दिपावली र छठ लक्षित यात्रा गर्ने यात्रुहरुको सहजताको लागि महोत्तरीको बर्दिवास,जलेश्वर र गौशाला गरि तिन स्थानमा यात्रु सहायता कक्ष विहिवार स्थापना गरिएको छ । यात्रु सहायता कक्षहरु बर्दिवासको वडा नं. १ बर्दिवास चोक,जलेश्वरको वडा नं. २ बस पार्क र गौशालाको वडा नं. ५ जिरोमाईल चोकमा स्थापना गरिएको हो ।
ट्राफिक प्रहरी कार्यालय बर्दिवासका कार्यालय प्रमुख प्रहरी निरिक्षक बावुराम कार्कीले यात्राको दौरान यात्रुहरु विभिन्न बहानामा ठगिन सक्ने वा उनीहरुलाई मार्ग निर्देशन र सहयोगको आवश्यकत्ता हुन सक्ने भएकोले यात्रु सहायता कक्ष स्थापना गरिएको बताए । उनले तोकिएको टिकट शुल्क भन्दा वढी नतिर्न र कसैले बढी रकम लिन खोजे सिधा ट्राफिक प्रहरीलाई खवर गर्न समेत अनुरोध गरे । उनले यात्रु सहायता कक्षमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरीबाट समेत प्रहरी रह्ने भएकोले यसले यात्रुहरुलाई तत्काल आवश्यक पर्ने सवै गुनासो सम्बोधन हुने बताए ।
पछिल्लो समय सडक दुर्घटना न्युनिकरणको लागि मादक पदार्थ र लागुपदार्थ सेवनको जाँच सहित ट्राफिक चेकजाँच समेत कडा पारिएको छ ।







