रञ्जन कुमार भण्डारी
महोत्तरी,२२ असोज ।
देशैभर दशैंको किनमेल हुन थालेको छ । यहि अवसरलाई भजाउन भारतसंग जोडिएका महोत्तरीको जलेश्वर लगायत आसपासका बजारमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु समेतले पसलमा थोडै सामान जोडेका छन । सामान भने गत वर्षको परिमाण भन्दा कम ल्याएका छन । तर अधिकांश उपभोक्ताहरु अझै भारतिय बजारकै भर पर्दा नेपाली व्यवसायीहरुले यस पटकको दशैंमा समेत आशा अनुरुप व्यापार गर्न नपाउने चिन्तामा छन । जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष शिवचन्द्र चौधरी भने खुल्ला सिमाको कारण व्यापार अपेक्षाकृत फस्ट्याउन नसकेको बताउछन ।
खुल्ला सिमा भएकै कारण आम उपभोक्तालाई भारतबाट सामान ल्याउन सजिलो छ । सुरक्षा निकायले बल लगाएरै नाका कडा गर्न खोजे स्थानिय उपभोक्ताहरुले विरोध गर्न सक्ने भएकोले पारीबाट घरायसी प्रयोजनकै लागि सामान ल्याउन सुरक्षा निकायलाई समेत चुनौती छ । अध्यक्ष चौधरी भन्छन,‘नाकामा सहज सामग्री ओसार पसार भैरहे व्यापारमा सुधार आउदैन । ’
यता नेपालमा जलेश्वर नाकाहुदै आयात हुदै आएको आलु,प्याज,चामल लगायतका खाद्यान्न,हार्डवेयर,फलफुल,सख्खर,मसाला र कोयला लगायतका वढी सामग्री गत वर्षको तुलनामा कम भित्रिएको छ । आलुमा तिस प्रतिशत,अन्य खाद्यान्नमा वयालिस प्रतिशत,प्याजमा उननचालिस प्रतिशत,मसालामा त्रिपन्न प्रतिशत आयात कम देखिएको जलेश्वर भन्सार कार्यालयका भन्सार अधिकृत विशाल भण्डारी बताउछन । तथापी अन्य सामग्रीमा भने भन्सारले लक्ष्य पार गरेको थप्छन । उनले श्रावणमा १२४ प्रतिशत र भाद्रमा १२५ प्रतिशत लक्ष्य प्राप्त गरेको बताए ।
देशमा विविध कारणले वढ्दै गएको महंगीले समेत सिमापारी नजाने उपभोक्ताले नेपालमै समेत धेरै किनमेल गर्न सकेका छैनन । खसी बोका बजार समेत सुनसान रहेको अवस्थामा उपभोक्ता फकाउन सस्तो बजार लगायतका विशेष योजना संचालनमा ल्याउनु पर्नेमा महोत्तरीमा भने यस्तो बाजार संचालन हुन सकेको छैन ।
दशैैप्रतिको उत्साह कम भएको अवस्थामा नेपाली बजारमा अझै सुधारका थुप्रै आशाहरु भएपनि बजार सुधारका लागि व्यवसायी र सरकार पक्षबाट सुधारको अपेक्षामा स्थानिय छन । नेपालमै सर्वसाधारणलाई सजह हुने मुल्यमा सामग्री उपलब्ध गराउन सकिए उपभोक्तालाई आकर्षित गर्न सकिन्छ कि ?