बर्दिबास । महोत्तरीको बर्दिबासमा एकाएक केही दिनदेखि लालपुर्जा वितरणको हल्ला फैलिरहेको छ। जग्गा भोगाधिकार तथा भू-स्वामित्वको अधिकारबाट वञ्चित स्थानीयहरूबीच यो हल्ला फैलिएपछि चारैतिर आशासँगै कौतूहलतासमेत छाएको छ । शुक्रबार भएको पत्रकार भेटघाटमा नगरप्रमुख (मेयर) प्रह्लादकुमार क्षेत्रीले समेत यो विषयलाई लिएर नगरको सम्बन्धित शाखामा सर्वसाधारणहरूले बाक्लै फोन गरिरहेको जानकारी दिएका थिए । उनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले अफवाह फैलाएको आरोप लगाए । उनले भने, ‘यो अफवाह रास्वपाका माननीयले नै फैलाएका रहेछन् । के-कति काम भयो भन्ने विषयमा नगरपालिकामा जानकारी नै नलिई उहाँले कसरी हल्ला फैलाउनु भयो मलाई नै अचम्म लागेको छ।’
नगरप्रमुख क्षेत्रीको भनाइ क्षेत्र नम्बर १ का संघीय सांसद प्रमोद महतो र रास्वपाका कार्यकर्ताले फैलाएकोप्रति लक्षित थियो । बर्दिबास नगरपालिकाले यसअघि पनि सुकुम्वासीहरूलाई लालपुर्जा वितरण गर्दै आएको छ । बर्दिबास-२ र १ का झन्डै ३०० जना भूमिहीन दलितसहित सुकुम्वासीले लालपुर्जा पाइसकेका छन् । २४ पुस २०८० मा पनि वडा-२ का ५३ घरपरिवारले लालपुर्जा पाएका थिए । ‘स्टन्डबाजीले चल्दैन, तथ्यमा आधारित हुनुपर्छ। हामीले दिनरात नभनी काम गरेका छौँ । सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने प्रक्रियाका लागि अन्तिम काम भइरहेको छ,’ नगरप्रमुख क्षेत्रीले भने, ‘उहाँहरूले भनेजस्तो १ महिना त भन्दिनँ केही महिनाभित्रै नै वडा-४ का भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्छौँ ।’
कतिपयले लालपुर्जाको अफवाह र कालापानीको मुद्दा सँगै आएको हुनाले कालापानीको आन्दोलनलाई मोडन उक्त स्टन्डबाजी गरेको हुन सक्ने प्रतिक्रिया दिएका छन् । ११ जेठमा वनका कर्मचारीहरू कालापानी पुगेर लालपुर्जा नभए बसोबास छाड्नुपर्ने मौखिक सूचना दिएपछि स्थानीयहरू आन्दोलित भएका थिए। वनको जग्गा भन्दै सरकारको नीतिअन्तर्गत कार्यान्वयन गर्नुपर्ने कारण देखाउँदै गस्तीमा गएका वन रक्षक र कर्मचारीहरूले यस्तो सूचना दिएपछि स्थानीयले बीपी राजमार्ग १८ घण्टा ठप्प बनाएका थिए भने प्रहरीले बल प्रयोग गर्दा सडकको किनारामा रोकेर राखिएको बनका कर्मचारीहरूको गाडीमा उनीहरूले आगजनी गरेका थिए ।

सरकारले उक्त आन्दोलनको नेतृत्व गरेको आरोपमा वडाध्यक्षसहित ४ जनाविरुद्ध अहिले मुद्दा चलाइएको छ । यसैलाई आधार बनाएर झुठो मुद्दा लगाइएको भन्दै स्थानीयहरूले शनिबार बिहानैदेखि बीपी राजमार्ग ठप्प बनाएर विरोध जनाएका थिए । रास्वपाका कार्यकर्ता विजय पोखरेलले भने लालपुर्जा वितरण सरकारको नीतिअन्तर्गत नै भएको हुनाले वितरण तीव्रता दिइने बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकार बर्दिबासलगायत स्थानमा छिट्टै लालपुर्जा वितरणको तयारी रहेको छ। सरकारको तयारी लालपुर्जा वितरणको छ, अरूको रणनीति लालपुर्जा वितरण रोक्नु छ। तर ढुक्क हुनुहोस् लालपुर्जा वितरण छिट्टै हुन्छ ।’
यता भूमि समस्या समाधान कार्यालयका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव वडा र नगरले प्रारम्भिक चरणमा काम सकाउनुपर्ने र उनीहरूले सिफारिस दिएपछि मात्र वितरणको ढोका खोलिने बताउँछन् । ‘लालपुर्जा अब वितरण गर्न २ वटा लेयर पास गर्नुपर्छ,’ उनले भने, ‘पहिलो लेयर वडा हो। वडाले नगरलाई अन्तिम सिफारिस गर्छ, त्यसपछि नगरले हामीलाई पठाउँछ ।’
अव्यवस्थित बसोबासीको हकमा सेतो निस्सा वितरण गरिँदै
लालपुर्जा वितरणमा संघीय सरकार र स्थानीय सरकारबीच टकराव देखिएको छ । स्पष्ट कानुन र कार्ययोजनाबिना अहिलेको अवस्थामा रास्वपा सरकारले अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न नसक्ने नगरपालिकाको भनाइ छ। यसका बीच उसले सेतो निस्सा वितरण तयारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा टेकेर कार्यविधि र कानुन बनाएर नै वितरण गर्ने तयारी भएको नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले बताए ।
‘नगरवासीहरूले अनावश्यक झन्झटिलो नझेलुन् भनेर हामीले कित्ताकाट र नामसारीको समेत गृहकार्य गरिरहेका छौँ,’ नगरप्रमुख क्षेत्रीले भने, ‘सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न जिल्ला भूमि समस्या समाधान कार्यालयलाई सिफारिस गर्ने र वितरण गर्दै गर्ने हाम्रो नियमित प्रक्रिया छँदै छ नि !, सौर्य दैनिकसँग कुरा गर्दै उनले भने, ‘अव्यवस्थितलाई पनि व्यवस्थित बनाउँछौँ। सुकुम्वासीको लालपुर्जा र अव्यवस्थित बसोबासीको सेतो पुर्जा सँगसँगै वितरण गर्ने तयारी भइरहेको छ ।’
भूमि समस्या समाधान आयोगको पछिल्लो तथ्यांकअनुसार महोत्तरी जिल्लाकै सबैभन्दा धेरै अव्यवस्थित बसोबासी र भूमिहीन परिवार बर्दिबास नगरपालिकामा रहेका छन् । यहाँ १० हजार २९८ घरपरिवारको लगत प्रविष्ट भएको छ। प्रजिअ इन्द्रदेव यादवका अनुसार बर्दिबासका सबै वडामा गरेर १ हजार ४२३ जना भूमिहीन दलित र सुकुम्वासीको लगत संकलन भएको छ। यस्तोमा नगरले सिफारिस दिनासाथ वितरण गर्न सकिने प्रजिअ यादवको भनाइ छ । सौर्य दैनिकबाट







