रञ्जन भण्डारी
महोत्तरी,१९ फाल्गुण ।
महोत्तरीको बर्दिवास र धनुषाको लालगढ जोड्ने पुर्वपश्चिम राजमार्ग अन्तर्गतको रातु पुलमा दुई शंकास्पद वस्तु भेटिएकोमा एक विस्फोट भई दुईजना सामान्य घाईते भएका छन भने अर्को नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय गरेको छ ।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका १० घर भएका १७ वर्षिय संदेश चौधरी र वर्ष २४ का समीर चौधरी सामान्य घाईते भएका हुन । पुल छेउमा राखिएको शंकास्पद वस्तु लात्तीले हिर्काउदा विस्फोट भएकोमा दुईजना सामान्य घाईते भएका हुन । यता विस्फोट पछि प्रहरीलाई जानकारी गराइएकोमा प्रहरीले पुल घेराहाली एरिया सुरक्षित बनाउदै नेपाली सेनालाई डाकेको हो ।
नेपाली सेनाको गोरखनाथ गणका बम डिस्पोजल टोलीले अर्को शंकास्पद वस्तुलाई निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्टले बताए । उनले घाईते अस्पताल नै भर्ना गर्ने अवस्थाको नरहेको र उनीहरु फर्केको बताए ।
फाल्गुण २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै शंकास्पद वस्तु समेत भेटिएको अवस्थामा जिल्लाको सुरक्षा अवस्था अझै कडा बनाइएको छ ।