काठमाडौं,२९ पौष ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी गतिविधिमा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका छन्।
भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा सोमबार विज्ञप्ति जारी गर्दै खड्काले एकताका साथ अघि बढ्न अपिल गरेका हुन्।
देश विषम परिस्थितिमा रहेको उल्लेख गर्दै खड्काले भनेका छन्, ‘यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु।’
फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभाको निर्वाचनमार्फत संविधानलाई लिकमा ल्याई लोकतान्त्रिक संवैधानिक व्यवस्था सुचारू गर्न आवश्यक रहेको प्रस्ट्याउँदै खड्काले कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुन अपरिहार्य रहेको बताएका छन्।
प्रतिनिधिसभाको निर्वाचनपछि ०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको उनको तर्क छ।
गगनले फेरि भने– पार्टीको कार्यक्रम हो, सभापति र कार्यवाहक सभापति उपस्थित हुनुस्
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पुनः सहभागी हुन आग्रह गरेका छन्।
भृकुटीमण्डपमा महाधिवेशनमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै थापाले यो कार्यक्रममा सबैको सहभागिता आवश्यक भएको बताए। उनले भने, ‘यो पार्टीको विधानअनुसारको कार्यक्रम हो, कुनै अलग कार्यक्रम होइन।’
थापाले नेताहरू डरले सहभागी हुन नसकेको र देशभरका कार्यकर्ताहरूले समर्थन जनाइरहेको पनि बताए। साथै, उनले विशेष महाधिवेशनलाई अवैधानिक ठहर्या्उन नहुने दाबी गरे।
पार्टी एकताबद्ध राख्न शेखर कोइरालाको आग्रह
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफूनिकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गरेका छन् । छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए । पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए ।
कोइरालाले आफूविबिष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए । कोइरालाले भने, ‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनुहुन्न भनेर कुरा गरिरहेको छु।’ उनले अगाडि भने, ‘तपाईंहरू ढुक्क हुनुस्, पार्टी फुट्दैन । तपाईंहरू पनि त्यसैमा लाग्नुस्। निराश हुने कामै छैन ।’
उक्त छलफलमा कानुन व्यवसायीहरूले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र भएको बताए । अहिले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए ।
उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फुटबाट जोगाउन डा. शेखर कोइरालाले दुवै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका थिए ।
छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बल ब. केसी, मीनेन्द्र रिजाल, वरिष्ठ अधिवक्ताहरू– शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपानेलगायतको सहभागिता रहेको थियो ।
कांग्रेस विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आइतबारदेखि भृकुटीमण्डमा जारी विशेष महाधिवेशनको बन्दसत्र मंगलबारसम्म लम्बिने भएको छ ।
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका विषयमा निर्णय लिन सक्ने बताइएको छ ।
बन्दसत्रमा आज सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर छलफल भइरहेको छ ।
६३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको विशेष पक्षधरको दाबी
नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी गरेका छन् ।
विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिए ।







